आशाका दुई एल्बम बिमोचित


ब्युटी न्युज नेपाल
काठमाडौं, १ पुष

गायनमा सक्रिय गीतकार तथा गायिका आशा सुहाङ लिम्बूले एकसाथ दुई एल्बम ल्याएकी छन् । मोडलसमेत रहेकी आशाका गीत एल्बम ‘आदित्य’ र लिम्बू भाषाको ‘सुम्निया’ राजधानीमा एक कार्यक्रमबीच बिमोचन गरिएको छ ।

कार्यक्रममा नेपाल संगीत नाट्य प्रज्ञाप्रतिष्ठानका निर्वतमान सदस्य सचिव तथा बरिष्ठ गायक गणेश रसिक र चर्चित गायक राजेशपायल राईलगायतले एल्बम सार्वजनिक गरेका थिए ।

कार्यक्रममा एल्बममा समाविष्ट दुई गीतको भिडियो प्रिमियर गरिएको थियो । एल्बम सार्वजनिक गर्दै गायक रसिकले गीतकार तथा गायिका आशाको संगीतप्रतिको लगावलाई प्रशंसा गरे । रसिकले भने,‘विदेशमा बसेर पनि नेपाली गीतसंगीतलाई निन्तरता दिनु हामी सबै संगीतकर्मीका लागि सुखद् कुरा हो ।’ गीतकार आशा केही वर्षयता अमेरिकाको हवाइ राज्यमा बस्दै आएकी छन् ।

एबी किरात नेपालले बजारमा ल्याएको एल्बम ‘आदित्य’मा नलेखेको, तिमीले छोडी, जुन हेर्यो, टुट्ने छैन, जुनेली रातमा लगायत ६ वटा गीत रहेका छन् । जसमा राजेशपायल राई, दीपक लिम्बू, ताराप्रकाश लिम्बू, मेलिना राई, ब्रविम शेर्मा, पुर्णिमा लामा र आशाकै स्वर रहेको छ । त्यस्तै, लिम्बू भाषाको एल्बम ‘सुम्निया’मा पनि ६ वटा लिम्बू भाषाका गीत समोवश छन् ।

कार्यक्रममा गीतकार तथा गायिका आशाले नेपालीहरु जहाँसुकै पुगेपनि आफ्नो भाषा संस्कृतिलाई माया गर्ने भएकाले आफू पनि सोही बाटोमा आएको बताइन् ।