स्कुल र कलेजमा फुटबल नछोएका अनमोल फुटबलको क्याप्टेन बने


ब्युटी न्युज नेपाल
काठमाडौं, २७ मंसिर

अभिनेता अनमोल केसीले आफुले स्कुलदेखि कलेज जीवनसम्म पनि कहिल्यै फुटबल नछोएको बताएका छन् । बिहिबार काठमाडौंमा नयाँ फिल्म क्याप्टेनको गीति भिडियो सार्वजनिक समारोहमा अभिनेता अनमोलले यस्तो खुलासा गरेका हुन् ।

नेपाली फुटबलमा पूर्व राष्ट्रिय खेलाडी हरि खड्कासँगै आफुले केबल डेढ महिना फुटबल सिकेर फिल्म क्याप्टेनमा फुलबल खेलाडीको भूमिका निर्वाह गर्न सफल भएको उनले जिकिर गरे ।

त्यसअघिका दिनमा फुटबल खेलेको अनुभवबारे यी अभिनेताले भने,‘म अग्लो भएकाले स्कुल देखि नै कलेजसम्म पनि मलाई बास्केटबल खेल्न लगाईयो । जसका कारण मैले न कहिल्यै स्कुलमा फुटबल खेल्न पाएँ न कलेजमा नै फुटबल खेलाडी हुन पाएँ ।’ आफुले फुटबल खेलेको भनेकै चलचित्र चलचित्र क्याप्टेनको छायाँकनको क्रममा हो भन्ने प्रतिक्रिया यी अभिनेताले दिए ।

आगामी १७ फागुनबाट देशव्यापी सिनेमा हलमा रिलिज हुने यो फिल्म मुलुकका खेलाडीहरु प्रति समर्पित गर्दै केही पृथक फिल्म बनाउँ भनेर बुबा भुवन केसी, निर्देशक दिवकार भट्टराईको सल्लाह अनुसार तयार भएको पनि अनमोलले बताए ।

पूर्व राष्ट्रिय टिमका फुटबल खेलाडी हरि खड्काले पनि आफुले सोचेको भन्दै निकै छोटो समयमा अनमोलले फुटबल सिकेर यो फिल्ममा सफल खेलाडीको रुपमा भूमिका निर्वाह गर्न सफल भएको बताए । उनले पनि यो फिल्म खेलाडीहरुका लागि प्राउड फिल हुने छ र यसकै प्रेरणाले नेपालले साफ च्याम्पिएन आउँदो समयमा जित्ने विश्वास व्यक्त गरे ।