राष्ट्रिय कविता प्रतियोगितामा फूलमान उत्कृष्ट (पढ्नुस् उत्कृष्ट कविता)


व्युटी न्युज नेपाल
काठमाडौं, १० असार

‘राष्ट्रिय कविता महोत्सव–२०७५’ तथा राष्ट्रिय कविता प्रतियोगितामा सबैलाई उछिन्दै कवि तथा पत्रकार फूलमान बल उत्कृष्ट भएका छन् । नेपाल प्रज्ञा प्रतिष्ठानद्वारा शनिबार प्रतिष्ठानमा आयोजित यो प्रतियोगितामा काभ्रेका फूलमान आप्mनो कविता ‘इन्द्रेणीको गीत’मार्फत उत्कृष्ट भएका हुन् ।

प्रतिष्ठानका अनुसार महोत्सवमा २२९ ओटा कविता प्राप्त भएका थिए । ती सबैलाई जितेर कवि फूलमान आफ्नो कवितामार्फत उत्कृष्ट भएका हुन् ।

नेपाल प्रज्ञा प्रतिष्ठानको ६१औं वार्षिकोत्सवका अवसरमा राष्ट्रिय कविता महोत्सव– २०७५ आयोजना गरिएको हो । कार्यक्रममा प्रतियोगीहरू सबैले कविता सुनाएका थिए । यो प्रतियोगिता २०२२ सालदेखि आयोजना हुँदै आएको हो ।

सोही महोत्सवमा धादिङकी कवि सुनिता खनाल आफ्नो कविता ‘श्यामश्वेत फोटो’मार्फत द्वितीय भइन् । यस्तै, ‘एउटा अर्को प्रयास’ कविताबाट रामेछापका कवि जीवन खत्री, ‘लाहुरेकी स्वास्नी’ कविताबाट तेह्रथुमकी कवि एलिना दुलाल र ‘बिराएछु बाटो’ कविताबाट मोरङकी कवि मेनुका चापागाईं तृतीय भएका छन् ।

प्रथम भएका बलले ३० हजार रुपैयाँ र स्वर्ण पदक, द्धितीय भएकी खनालले २५ हजार रुपैयाँ र रजत पदक तथा तृतीय भएका यी तीनै जनाले जनही २० हजार रुपैयाँ र कांस्यपदक प्राप्त गर्नेछन् । बिजेताहरुलाई राष्ट्रपतिको हातबाट पुरस्कार पदक चाँडै प्रदान गरिने प्रतिष्ठानले जनाएको छ ।

सो महोत्सवको उद्घाटन गर्दै संस्कृतिमन्त्री रवीन्द्र अधिकारीले यस्ता कविता महोत्सवले नयाँ कविहरूलाई यस क्षेत्रमा अघि बढ्न प्रोत्साहित गर्ने बताए । उनले नेपाली समाजको अवस्थालाई कवितामा चिरफार गर्न नयाँ पुस्तालाई कविता लेख्न आग्रह गरे ।

नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले मुलुकका अग्रजदेखि नयाँ पुस्तासम्मका चर्चित कविहरू यो कविता प्रतियोगिताबाटै चर्चामा आएको जिकिर गरे । नयाँ कविहरूलाई प्रोत्साहित गर्न पाँच दशकभन्दा लामो समयदेखि कविता महोत्सव गर्दै आएको उनले बताए ।

कवि हेमनाथ पौडेल, कृष्ण प्रधान, मञ्जु काँचुली, जगत उपाध्याय र गोपिन्द्र पौडेल निर्णायक रहेको समितिले प्रथम, द्वितीय र तृतीय कविताको चयन गरेको हो ।

प्रथम भएको फुलमान बलको कविता यस्तो छ ः

इन्द्रेणी गीत

–फूलमानवल

बर्षौंदेखि तिम्रो इतिहासले–
विस्मृतिको बुइँगलमा मिल्काइ दिएको
पेङदोर्जेको उही प्राग ऐतिहासिक डम्फू बजाउँदै
गाएकै हुँ मैले,
नयाँयुगको फापरे व्हाई
यसको मतलब यो हैन कि–
मैले मादलको ताल बिगारें
मादललाई त
लाउँदै मायाको खरी
पागलप्रेमीले झैं
भिर्दै आएकै हुँ– दिलको कम्मरमा
गाउँदै आएकै हुँ– तिम्रै एकोहोरो समला र चुट्की

हो मित्र,
बर्षौंदेखि तिम्रो इतिहासले
बिस्मृतिको बरण्डामा बाँधी राखेको
आखे म्हेम्हेको उही पुरानो टुङना बजाउँदै
गाएकै हुँ मैले
नयाँयुगको म्हेन्दोमाया
यसको मतलब यो हैन कि–
मैले सितारको धुन बिगारें
सितारलाई त
झनतन्काउँदै प्रणय तार
पागलप्रेमीले झैं
राख्दै आएकै हुँ– मनको देब्रे कुनामा
गाउँदै आएकै हुँ– तिम्रै एकोहोरो वसन्त बन्दना

बरु कुनै समय,
सहगोत्री सहनाई र सारंगीलाई
मिल्काएर ढोकाबाहिरतिमीले
बनाइ दिएका थियौ अछुत
र, निदाएका थियौ लामो समय तिमी
घमण्डको राजपलङ
दुखाएर मुर्चुङगा, ढोल, डम्फु र बाँसुरीमन
जुनदिनदेखि तिमी निदायौ त्यसरी
त्यही दिनदेखि,

–कमजोर बनेको हो हाम्रो आँगनको चिरबिरलय
–सुश्क सुनिएको हो स्वाभिमानी सारंगी
–रुन थालेको हो सहगोत्री सहनाई
हो, त्यहीदिनदेखि नै
बज्न थालेको हो हाम्रो आँगनमा
आतंकको डरलाग्दो ड्रमसेट
सुनिन थालेको हो चारैतिरबाट
एकसरो एकसरो अहंमको आलाप

हो मित्र,
बर्षौंदेखि तिम्रो इतिहासले
विस्मृतिको बुइँगलमा मिल्काइ दिएको
पेङदोर्जेको उहीप्राग ऐतिहासिक डम्फू बजाउँदै
गाएकै हुँ मैले,
नयाँयुगको विहानी गीत

तिमीले सदियौंदेखि गाउँदै आएको
एकसरो गीतमा
मात्र मैले,
चाहेको हुँ थप्न एउटा रंगीनलय
जसरी सप्तरंगमा उभिन्छ इन्द्रेणी
जसरी सप्तक–स्वरमा गुन्जिन्छ संगीत
त्यसरी नै गाउन चाहेको हुँ
मैले पनि समयको
एउटा इन्द्रेणी गीत
००००