ब्युटी न्युज नेपाल
काठमाडौँ, १४ असोज
गायक खेम सेन्चुरीको गीत ‘बाहुनबाजे’लाई लिएर उत्पन्न विवाद सहमतिमा टुंगिएको छ। साइबर ब्यूरोमा भएको दुई चरणको छलफलपछि सेन्चुरी र उजुरीकर्ता पक्षबीच गीत तथा भिडियोमा रहेका विवादित विषयवस्तु हटाउने सहमति भएको हो।
सेन्चुरीले आफ्नो रचना, संगीत र स्वर रहेको गीत सम्पादन गर्ने लिखित प्रतिबद्धता जनाएका छन्। सहमतिअनुसार गीतमा समावेश गरिएको विवादित मासुसम्बन्धी शब्द हटाइनेछ। यस्तै, पूजाका क्रममा ब्राह्मणले खाएको भाग देखाइएको दृश्यलाई भिडियोमा ब्लर गर्ने तथा गीतको शीर्षकसमेत परिवर्तन गर्ने सहमति भएको छ।
गोधुली क्रियसन प्रालिले उत्पादन गरेको ‘बाहुन बाजे किन कासेको…’ बोलको गीत करिब एक महिनाअघि युट्युबमार्फत सार्वजनिक भएको थियो। गीतमा सेन्चुरी र दीपिका बयम्बु मगरको स्वर रहेको छ भने गीतको रचना तथा संगीत सेन्चुरीकै हो।
गीत तथा भिडियोले बाहुन समुदायलाई होच्याएको दाबी गर्दै हिन्दूवादी अभियन्ताहरूले साइबर ब्यूरोमा उजुरी दिएका थिए। उनीहरूले गीतका केही विषयवस्तुले सनातन हिन्दू समुदायबीचको एकता र सद्भावमा असर पार्न सक्ने दाबी गरेका थिए। विशेषगरी गीतमा प्रयोग गरिएको मासुसम्बन्धी शब्दप्रति उजुरीकर्ता पक्षले आपत्ति जनाएको थियो।
उजुरीपछि साइबर ब्यूरोले दुवै पक्षलाई छलफलका लागि बोलाएको थियो। पहिलो दिनको छलफल निष्कर्षमा पुग्न नसकेपछि दोस्रो दिन पुनः वार्ता भएको थियो। त्यसपछि विवादित अंश सम्पादन गर्ने सहमतिसँगै विषय टुंगिएको हो।






