नीशा र प्रकाशको ‘लाली लपक्कै’मा निरुता र विन्दु


ब्युटी न्युज नेपाल
काठमाडौं, २१ भदौ

गायिका नीशा सुनारले हरितालिका तीजको अवसर पारेर नयाँ तीज गीत ‘लाली लपक्कै सारी सपक्कै’ सार्वजनिक गरेकी छन्। प्रकाश सपुतको शब्द तथा संगीतमा तयार भएको गीतमा नीशा सुनार र प्रकाश सपुतको स्वर रहेको छ।

तीजको अवसरमा सार्वजनिक गर्ने तयारी भए पनि नेपालमा आएको विनाशकारी बाढीका कारण गीतको रिलिज केही समय पछि सारिएको थियो। भदौ १० गते सार्वजनिक गर्ने तयारी गरिएको गीत आइतबार सार्वजनिक गरिएको हो।

गीतको भिडियोमा प्रकाश सपुत, अभिनेत्री निरुता सिंह र विन्दु बोहराको नृत्य देख्न सकिन्छ। गायिका नीशा सुनार पनि भिडियोमा विशेष भूमिकामा प्रस्तुत भएकी छन्। सुनिल वीकको निर्देशनमा तयार भएको भिडियोमा गम्भीर विष्टको कोरियोग्राफी रहेको छ। हरि हुमागाईंले डीओपीको जिम्मेवारी सम्हालेको भिडियो प्रविण भट्टले सम्पादन गरेका हुन्।

यस गीतमार्फत गायक तथा मोडल प्रकाश सपुत र उनकी श्रीमती विन्दुले पहिलोपटक एकसाथ म्युजिक भिडियोमा काम गरेका छन्। भिडियोमा उनीहरूको जोडीको केमेस्ट्रीलाई दर्शकले रुचाउने अपेक्षा गरिएको छ।

त्यस्तै, अभिनेत्री निरुता सिंहले पनि पछिल्लो समय सीमित म्युजिक भिडियोमा मात्र अभिनय गर्दै आएकी छन्। गीत कर्णप्रिय लागेकाले आफू भिडियोमा जोडिएको उनको भनाइ छ।

तीजको सांस्कृतिक परिवेश, प्रेम र उत्सवको भावलाई समेटिएको गीतले दर्शकमाझ राम्रो प्रतिक्रिया पाउने निर्माण पक्षको अपेक्षा छ।