मानसराज र समीक्षाको स्वरमा ‘यसपालीको तीज बरै मेलबर्नमा’


ब्युटी न्युज नेपाल
काठमाडौँ, २० भदौ

गायक तथा संगीतकार मानस राजले पहिलोपटक तीज गीतमार्फत दर्शक तथा स्रोतामाझ आएका छन् । कृष्णाष्टमीको अवसर पारेर उनले गायिका समीक्षा अधिकारीसँगको सहकार्यमा तीज गीत ‘यसपालीको तीज बरै मेलबर्नमा’ सार्वजनिक गरेका हुन् ।

डा. कृष्णहरि बरालको शब्द र मानस राजकै संगीत रहेको गीतमा समीक्षा र मानसको स्वर छ । नरेन्द्र वियोगीको एरेन्ज तथा मिक्सिङ रहेको गीत शुक्रबार मानस राजकै युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।

मेलबर्नमा छायांकन गरिएको गीतको भिडियोमा नेपाली कला, संस्कृति र तीजको उल्लासलाई प्रस्तुत गरिएको छ । नेपअसले निर्माण गरेको भिडियोमा पूजा क्षेत्री, सायद श्रेष्ठ, गरिमा रायमाझी, सुरुची सापकोटा, दीक्षा क्षेत्री, रेशा खड्का, आज्ञा राई, डिया अर्याल, श्रीया कँडेल, प्रिशा मास्के, प्रिसियस घिमिरे र अलिना मरासिनी लगायत कलाकारको अभिनय रहेको छ । बाल कलाकारतर्फ प्रारम्भ गुरुङ र सन्सा खत्री पनि भिडियोमा देखिएका छन् ।

भिडियोको निर्देशन तथा नृत्य निर्देशन सायद श्रेष्ठले गरेका हुन् । मेलबर्नमा रहेर नेपाली कला तथा संस्कृतिसँग सम्बन्धित गतिविधिमा सक्रिय श्रेष्ठले प्रवासमा निर्माण हुने यस्ता सांगीतिक सामग्रीले नयाँ पुस्तालाई नेपाली संस्कृतिसँग जोड्न सहयोग पुग्ने बताए ।

‘हामीले गीत छायांकन गर्दा यसले हाम्रै नयाँ पुस्तालाई नेपाली कला र संस्कृतिसँग नजिक बनाउँछ भने अस्ट्रेलियनले पनि नेपाली परम्परालाई बुझ्ने मौका पाउँछन्,’ उनले भने, ‘हामीले यहाँ हुने सांस्कृतिक कार्यक्रममा नेपाली भेषभूषालाई प्रवद्र्धन गर्ने गरेका छौँ ।’

भिडियोमा अभिनय गरेकी मोडल पूजा क्षेत्रीले पनि तीज गीतमा काम गर्न पाउँदा खुसी लागेको बताइन् । नेपालमै रहेर तीज मनाएको आफ्नो विगतको अनुभवलाई मेलबर्नमा भएको छायांकनले पुनः स्मरण गराएको उनको भनाइ छ ।

मानस राजका लागि ‘यसपालीको तीज बरै मेलबर्नमा’ पहिलो तीज गीत हो । गीत र भिडियो दुवैलाई दर्शकले रुचाउने अपेक्षा रहेको उनले बताए ।

‘अडियो र भिडियो दुवै सशक्त बनेको छ । मेलबर्नमा निकै मेहनत गरेर भिडियो तयार गरेका छौँ । यस गीतले तीजको कला, संस्कृतिसँगै चाडपर्वको उल्लासलाई व्यक्त गरेको छ,’ मानसले भने ।

‘भाइरल भइदियो’ गीतबाट चर्चामा आएका मानस राजका ‘रेशम फिलिली’को ‘पारि त्यो डाँडामा हेर घाम लाग्यो घमाइलो’, ‘डायरी’को ‘माया मायामा’, ‘हिरो’, ‘लै लै राजकुमारी’ लगायत गीत पनि चर्चित छन् ।

भिडियोको छायांकन जीवन रसाइलीले गरेका हुन् भने दिन्सन शाहले सम्पादन तथा रङ्ग संयोजन गरेका छन् । आइक्याच स्टुडियोमा पोस्ट प्रोडक्सन गरिएको भिडियो नेपअसले निर्माण गरेको हो ।

प्रदीप दाहाल निर्माता र अन्जन घिमिरे प्रस्तुतकर्ता रहेको भिडियो निर्माणमा आरएफएम फ्यासिलिटी म्यानेजमेन्ट तथा लेनवे डम्पिङस एन्ड मोमोले सहयोग गरेका छन् ।