‘चट्टै परेर’मा उषाको मौलिक तीजको झल्को


ब्युटी न्युज नेपाल
काठमाडौँ, ३ भदौ

नारी पर्व तीज नजिकिँदै गर्दा नेपाली मौलिक तीज संस्कृति संरक्षण तथा प्रवद्र्धन गर्ने उद्देश्यले लोकप्रिय गायिका उषा मलाहा ‘सिम्रन’को नयाँ तीज गीत ‘चट्टै परेर’ सार्वजनिक भएको छ। गीत गायिकाको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो।

आधुनिकताको प्रभावसँगै मौलिक तीज गीत तथा परम्परागत संस्कृति ओझेलमा पर्दै गएको अवस्थामा सार्वजनिक गरिएको ‘चट्टै परेर’ले तीजको मौलिक भावना, माइतीको माया, साथी–सँगीको सम्झना र विगतका यादलाई गीत तथा भिडियोमार्फत प्रस्तुत गरेको छ।

गीतमा डीपी खनालको शब्द, देवेन्द्र बरालको संगीत र विश्व अधिकारीको एरेन्जमेन्ट रहेको छ। गीतको मिक्सिङ तथा मास्टरिङ किशोर थापाले गरेका छन्। अमेरिकास्थित एसएम स्टुडियोमा सुवास सिन्चुरीले रेकर्डिङ गरेका हुन्।

गीतको भिडियोमा नेपाली समाजको मौलिक संस्कृति र तीज पर्वको महत्वलाई ठेट नेपाली शब्द तथा भावनासहित प्रस्तुत गरिएको छ। भिडियोमा सुनिशा बजगाईं, सुशीला थापालगायतले अभिनय गरेका छन्।

रोशन विश्वकर्माको कोरियोग्राफी रहेको भिडियोको निर्देशन शान थापाले गरेका हुन्। छायांकन दिनेश पराजुली र सम्पादन विवेक सुनारको रहेको छ। गीतले तीजको सांस्कृतिक पक्षसँगै माइती, साथी–सँगी र चेलीबेटीका भावनालाई मनोरञ्जनात्मक ढंगले प्रस्तुत गरेको छ।