ब्युटी न्युज नेपाल
काठमाडौँ, २ भदौ
गायिका नीशा सुनारले नयाँ गीत ‘झ्याप छौं कि साइँला दाई’ सार्वजनिक गरेकी छिन्। लामो समयदेखि अमेरिकामा बस्दै आएकी सुनार नेपाल आएको अवसरमा नयाँ गीतमार्फत सांगीतिक क्षेत्रमा पुनः सक्रिय भएकी हुन्।
रमाइलो तथा मनोरञ्जनात्मक शैलीमा तयार गरिएको गीतमा नीशा सुनार र खेम सेन्चुरीको स्वर रहेको छ। रमेश बीजीको शब्द तथा खेम सेन्चुरीकै संगीत रहेको गीतको भिडियो पनि आकर्षक शैलीमा तयार गरिएको छ।
सुनिल बीकेको निर्देशनमा निर्माण भएको गीतको भिडियोमा अभिनेता नाजिर हुसेन र अभिनेत्री उषा उप्रेतीले अभिनय गरेका छन्। भिडियोमा नाजिर र उषाको रमाइलो तथा रोमान्टिक प्रस्तुति देख्न सकिन्छ।
अनिल के मानन्धरले छायांकन गरेको भिडियोमा प्रविण भट्टको सम्पादन, राजेन्द्र मोक्तानको कलर तथा रोशन विश्वकर्माको कोरियोग्राफी रहेको छ।
नीशाले आफ्नो स्वरमा नयाँ तीज गीत पनि केही दिनमै सार्वजनिक गर्ने तयारी गरेकी छिन्। कुनै समय नेपाली सांगीतिक क्षेत्रमा लोकप्रिय रहेकी सुनारले अब गायनलाई निरन्तरता दिने बताएकी छिन्। अमेरिकामा रहे पनि संगीतप्रतिको आफ्नो सक्रियता कायम राख्ने उनको योजना छ।






