काठमाडौं, ११ चैत
मिस नर्स नामले आयोजना गर्दा नर्स काउन्सिलले बन्द गराएको सौन्दर्य प्रतियोगिता दुई वर्ष यताबाट ‘मिस नेपाल पिस’को नाममा आयोजना हुँदै आएको छ ।
यही प्रतियोगिताको पाँचौ संस्करण ‘मिस नेपाल पिस–२०१८’ को उपाधि काठमाडौ लैनचौर निवासी २३ बर्षीया श्रीया रजकले जितेकी छन् ।
बिएससी नसिङको पास रजकले अन्तिम प्रतिस्पर्धामा २३ प्रतियोगीलाई उछिन्दै मिस फोटोजेनिक उपाधिका सहित मिस नेपाल पिसको शिर्ष उपाधि चुमेकी हुन् । उनले ५० हजार रुपैयाँ, नेपाल बेष्ट क्यान्सर फाउन्डेसन सेवाको गुडबिल एम्बसेडर लगायत बिभिन्न उपहार प्राप्त गरिन् ।
शनिबार राजधानीको एक होटलमा अबेर राती सम्पन्न अन्तिम प्रतिस्पर्धामा सुस्मिता बोगटी फष्टरनर अपको उपाधि सहित ३० हजार रुपैयाँ र जीना श्रेष्ठ सेकेन्ड रनर अपको उपाधि सहित २० हजार रुपैयाँ पाईन् ।
प्रतियोगितामा अन्य उपाधि तर्फ मस्ट् चार्मिङ आरजु श्रेष्ठ, मस्ट् डिस्सिप्लिन आस्मा प्याकुरेल, बेस्ट् नर्सिङ थिम ड्रेस अनु कुमाल, सोसल्ली रेस्पोन्सेबल सरिता राई र मस्ट् पपुलर साजन केसी घोषित भए ।
यस्तै ब्युटी विथ ब्रेन जीना श्रेष्ठ, मस्ट् ट्यालेन्टेड रिना थापामगर, बेस्ट पर्सनालिटी सुस्मिता बोगटी, बेस्ट् वाक दीता देवकोटा, पब्लिक च्वाइस प्रमिला पण्डित घोषित भए ।
मिस नेपाल पिस (मिस नर्स) शान्तिको सन्देश फैलाउने प्रतिबद्धता सहित आयोजना गरिएको आयोजक नेक्स्ट् मोडल्स नेपालका अध्यक्ष रबि धमलाले बताए ।
यो प्रतियोगिताको निर्णायकमा मिस नेपाल वल्ड २०१६ अस्मी श्रेष्ठ, फोटोग्राफर राजभाई सुवाल, डा.लोचन कार्की, डा. सन्ध्या चापागाई लगायत थिए । रोजिन शाक्यको कोरियोग्राफी, शेखर केशजु क्रियटिभ निर्देशक, पुरुषोतमा खतिवडा इभेन्ट कोअडिनेटर थिए ।