ब्युटी न्युज नेपाल
काठमाडौं, १५ असार
नेपाली गीत–संगीत क्षेत्रका अग्रज स्रष्टालाई सम्मान र नयाँ प्रतिभालाई प्रोत्साहन गर्ने उद्देश्यले आयोजित ‘१३औँ म्युजिकखबर म्युजिक अवार्ड–२०८२’ काठमाडौंमा आइतबार बेलुका सम्पन्न भएको छ। कार्यक्रममा नेपाली संगीत क्षेत्रमा दशकौँदेखि योगदान पु¥याउँदै आएका वरिष्ठ संगीतकार तथा संगीतरत्न शम्भुजीत बासकोटालाई ‘म्युजिकखबर दीर्घ साधना सम्मान–२०८२’ प्रदान गरिएको छ। पूर्व उपराष्ट्रपति परमानन्द झाले दोसल्ला, सम्मानपत्र तथा नगद ५१ हजार रुपैयाँसहित उनलाई सम्मान गरेका थिए। बासकोटाको सम्मानमा गायिका टीका प्रसाईंले विशेष सांगीतिक प्रस्तुति दिएकी थिइन्।
कार्यक्रममा गीतकार उन्नती शीला बोहरालाई ‘शब्द शीला विशिष्ट सम्मान’, गीतकार विजय शिवाकोटीलाई ‘रजत संगीत सम्मान’ तथा गायक शिव परियार र गायिका कालिका रोका मगरलाई ‘दशक संगीत सम्मान’ प्रदान गरियो। जनही ५ हजार ५५५ रुपैयाँ सहित पत्रकार कुवेर गिरी, गोपीकृष्ण चापागाईंलाई पत्रकारिता सम्मान प्रदान गरियो । यस्तै गीतकार पुरुषोत्तम सानु, सुशीला पौडेल, पुष्पा खनाल, बालप्रतिभा युनिश घिमिरे, गायिका नीता आचार्य, डा. रणजित झा र सञ्चारकर्मी उदयराज शर्मालाई पनि सम्मानित भए ।
यस वर्ष ३३ विधामा अवार्ड वितरण गरिएको समारोहमा सुगम संगीततर्फ प्रविन बेडवाल उत्कृष्ट गायक र सारिका घिमिरे उत्कृष्ट गायिका घोषित भए। गीतकार डम्बर याक्सो, संगीतकार शंकर थापा ‘स्माइल’, गीतकार सरला श्रेष्ठ, मनोज खड्का, संगीत संयोजक नरेन्द्र वियोगी अवार्ड थापे । अधुनिध गीत भिडियोमा मोडल झरना रिसाल र सुरेश कोह्ली, निर्देशक तर्फ राहुल शाह, छायाँकारतर्फ अजय रेग्मी तथा सम्पादकतर्फ पदम सुवेदीले, ध्वनी सम्पादनबाट नरेश बिबीसीले अवार्ड हासिल गरे ।

युगलगायन तर्फको अवार्ड कर्णराज गिरी र कमला रेग्मीले राष्ट्रिय भावको गीत अवार्ड सुरेन्द्र खड्काले, पप गीतकारको अवार्ड धनबीर थापा मगरले पप संगीततर्फ संगीतकारको अवार्ड अर्जुन पोखरेल, पपगायन पुरुषको अवार्ड रविन श्रेष्ठले, पपगायन महिला तर्फको अवार्ड आश्रा कुँवरले हासिल गरिन् ।
चलचित्रतर्फ गायकमा लाज शरणमबाट सुरज पण्डित, गायिकामा उनको स्वीटरबाट झुमा लिम्बु, संगीतकारमा अन्जिलाबाट थानेश्वर गौतम र गीतकारमा उनको स्वीटरबाट युवराज काफ्ले विजेता बने । लोकदोहोरीतर्फ गायकमा अर्जुन सापकोटा, गायिकामा लक्ष्मी आचार्य, भाका तर्फ नवीन परियार, गीत रचनातर्फ प्रसाद लामिछाने, लोक दोहोरी म्युजिक भिडियो मोडल तर्फ पल शाह र नारायणी खत्री र भिडियो निर्देशन तर्फ दीप गुरुङले अवार्ड हात पारे। लोकदोहोरी नवप्रतिभातर्फ रेखा पोख्रेल र मनोहर शर्माले, कल्चरल गीत गायिकातर्फ सुशीला गौतमले अवार्ड प्राप्त गरे ।
समारोहमा गीतकारतर्फ पारसमणि बराल, पप गायनतर्फ सुनिल उप्रेतीले क्रिटिक्स अवार्ड पाए । गीतकार आधुनिक केशव भट्टराई, गायक छिरिङ भुटिया, संगीतकार बीबी अनुरागीले जुरी अवार्ड प्राप्त गरे ।
लोकराज अधिकारीको संयोजकत्वमा गठित निर्णायक मण्डलले विजेता छनोट गरेको समारोहको सञ्चालन मञ्जु पौडेल र निराजन भण्डारीले गरेका थिए। कार्यक्रममा पल शाह, टीका प्रसाईं, धिरज राई, देवान खनाल, युनिश घिमिरेलगायत कलाकारहरूको सांगीतिक प्रस्तुति आकर्षणको केन्द्र बनेको थियो ।


