ब्युटी न्युज नेपाल
काठमाडौँ, १४ वैशाख
द भ्वाइस अफ नेपाल सिजन ४ विजेता गायक करण राई अहिले अस्ट्रेलियामा छन् । उनी त्यहाँ आफ्ना सांगीतिक यात्राका लागि गएका हुन् ।
यही यात्राको क्रममा करणले नेपाली नयाँ वर्षको अवसरमा भएको कन्सर्टहरूमा आफ्नो प्रस्तुतिबाट दर्शकको मन जितिरहेका छन् । अस्ट्रेलियाको न्यु साउथ वेल्स, अल्बेरीमा गत शनिवार साँझ करणले आफ्ना दर्जनौँ हिट गीतहरू मार्फत दर्शकहरूलाई नचाए । करण अस्ट्रेलियामा सम्मानित पनि भएका छन् । कन्सर्टका साथै अस्ट्रेलियामा रहेका नेपाली दर्शक तथा प्रशंसकसँग मिट एन्ड ग्रिडमा समेत उनी ब्यस्त भइरहेका छन् ।
‘करण राई नाइट’ नाम दिइएको सो कन्सर्टमा सयौँ दर्शकहरू करणसँगै उनको प्रस्तुतिमा झुमे । दर्शकहरूको वान्स मोर र हुटिङपछि करणले लगातार ३ घण्टा जति धमाकादार प्रस्तुति दिएका थिए ।
कार्यक्रमको मुख्य आकर्षणको रूपमा करण राईको उपस्थितिमा खेलकुदको क्षेत्रमा उदीयमान प्रतिभाहरूको विशेष सम्मान पनि गरिएको थियो । करिब १५ वर्ष मुनिका खेलाडीदेखि भूतपूर्व भुटानी राष्ट्रिय फुटबल टोलीका सदस्यहरूलाई करण राईको हातबाट सम्मान गरिएको थियो । सम्मानित व्यक्तित्वहरूलाई करणले शुभकामना दिएका थिए । भुटानी अस्ट्रेलियन कम्युनिटी सपोर्ट ग्रुप इन अल्बेरीका अध्यक्ष डमर क्षेत्रीले कार्यक्रम सफलताको बारेमा जानकारी गराए ।
त्यस्तै क्रिएटिभ जर्नी फाउन्डेसनको आयोजनामा पनि अस्ट्रेलियाको ताजमनियामा पनि करणको अर्को भव्य कन्सर्ट सम्पन्न भयो । करणले कन्सर्टमा करिब एक घण्टा ३० मिनेट लगातार आफ्नो प्रस्तुति मार्फत दर्शकहरूलाई नचाए । कन्सर्टमा क्रिएटिभ जर्नी फाउन्डेसनको अध्यक्ष ओवेथ राईले करणलाई सम्मान हस्तान्तरण गरेका थिए । करणले पनि अस्ट्रेलियामा पाएको मायाले आफूलाई नयाँ संगीत सृजनाहरू गर्न उत्साहित बनाएको बताए ।