सुमन दाहाल/ब्युटी न्युज नेपाल
केन्टकी, अमेरिका, २८ अप्रिल
कवि, गीतकार तथा पत्रकार डा. नवराज लम्साल यति बेला आफ्नो साहित्यिक यात्राका क्रममा अमेरिकामा छन् । यस क्रममा कवि लम्सालले आइतबार केन्टकी राज्य स्थित ल्याग्जिङटनमा स्थानीय स्रष्टाहरूसँग आफ्ना रचना वाचन गरेका छन् ।
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) क्यान्टकी च्याप्टरद्वारा आयोजित डा. नवराज लम्सालका साथ रचना वाचन कार्यक्रममा उनीसँग स्थानीय स्रष्टाहरूले आफ्ना रचना सुनाए ।
अनेसास केन्टकीका अध्यक्ष बद्री दाहालको अध्यक्षमा सम्पन्न सो कार्यक्रम करिब ४ घण्टासम्म चलेको थियो । कार्यक्रममा सुरुमा स्थानीय नेपाली साहित्यकार तथा कलाकारहरूले आफ्ना रचना प्रस्तुत गरे ।
कार्यक्रममा केन्टकीका २४ जना स्रष्टाले आफ्ना रचना एवम् कला प्रस्तुत गरे । कार्यक्रममा सुरु गुरागाईँ आमा शीर्षकको कविता सुनाइन भने उनले लम्सालको मदन पुरस्कार जित्न सफल अग्नी महाकाव्यको केही श्लोक पनि सुनाइन । कार्यक्रम मुरारी गुरागाईँ र उपेन्द्र शाहीले आफ्ना गीत प्रस्तुत गरे ।
कार्यक्रममा वारुणी पाण्डेले आकर्षक नृत्य प्रस्तुत गरिन् । कार्यक्रममा बद्री दाहाल डमरु पौडेल, जीवन निरौला, आकृति ढकाल, रोजिना ढकाल, आसिक गुरागाईँ, अर्चिता गुरागाईँ, सुप्रिया न्यौपाने, सौर्य अधिकारी, रौनक कोइराला, अनुपम थापा, किशोर सुवेदी, नवराज अधिकारी, चन्द्र अधिकारी, शिव दाहाल, अर्जुन थापा, जीवन शाही, सन्त कुँवर, विनोद सापकोटाले पनि कार्यक्रममा आफ्ना कविताहरू सुनाए ।
स्थानीय साहित्यकारहरूले आफ्ना सिर्जना प्रस्तुत गरिसकेपछि डा. नवराज लम्सालले जीवनका विभिन्न भोगाइहरू सुनाए । उनले संघर्षको कथा सुनाउँदै भने,‘फ्रान्समा नेपालबाट अन्तर्राष्ट्रिय बतृत्वकलामा गएर पुरस्कार जितेको थिएँ । फ्रान्सको कार्यक्रमबाट नेपाल फर्केपछि त्यसको केही समयपछि कोठा भाडा तिर्न आर्थिक अभाव भयो र २ हजार रुपैयाँ पुरस्कारको लागि मैले फेरी काठमाडौँमा जिल्ला स्तरीय बतृत्वकला प्रतियोगितामा भाग लिएँ’, नभन्दै सो प्रतियोगितामा २ हजार रुपैयाँ पुरस्कार जितेर घर भाडा तिरेको अनुभव पनि उनले सुनाए ।
करिब दुई घण्टाको प्रस्तुतिमा उनले बाल्यकालदेखि रेडियो नेपालबाट अवकाश लिँदा सम्मको कथा सुनाए । डा. लम्सालले आफूद्वारा सिर्जिन अग्नि, कर्ण जस्ता महाकाव्यको रचना कथा पनि सुनाए । यी महाकाव्यका विभिन्न कविताहरू पनि डा. लम्सालले कार्यक्रममा वाचन गरे ।
रेडियो नेपालमा कार्यरत रहँदा रहँदै रेडियोका जागिर छाडेर उनी पूर्णकालीन रूपमा काव्य सृजना तथा प्रस्तुतमा लागेका रहेछन् । आफ्नो कविता प्रस्तुतिकै लागि यति बेला आफू अमेरिका आएको पनि उनले बताए । अमेरिकाका विभिन्न स्थानमा आफ्नो कविता तथा अनुभव प्रस्तुत गरेर दर्शकको मन जितेका उनी यही १० मे मा नेपाल फर्कँदै छन् । डा. नवराज लम्सालका यस पटकको केन्टकीको यो कार्यक्रम निकै भव्य भएको बताए । आफूले यहाँ निकै राम्रो स्वागत सत्कार र कवि मनहरूको साथ पाएको पनि बताए ।
अनेसास केन्टकीका अध्यक्ष बद्री दाहालको डा. लम्साललाई केन्टकीमा स्वागत गर्दै कार्यक्रम राख्न पाउँदा खुसी लागेको बताए । उनले यो कार्यक्रमलाई सफल बनाएकोमा सहभागी सबै सर्जक तथा स्थानीय साहित्यप्रेमीहरुलाई धन्यवाद ज्ञापन गरे ।