हरिबहादुरको जुत्ता फूलपातीमै रिलिज हुने निर्माण पक्षको जवाफ 


ब्युटी न्युज नेपाल
काठमाडौँ, १२ वैशाख
चलचित्र निर्माता सरोज ओलीले आफ्नो चलचित्र ‘हरि बहादुरको जुत्ता’ आगामी दसैँको फूलपातीमै रिलिज हुने बताएका छन् । त्यो मितिमा आफ्नो चलचित्र नेपालसँगै विदेशमा पनि रिलिज हुने जिकिर गरेका छन् ।
नेपाली चलचित्रलाई अन्तर्राष्ट्रिय बजारमा वितरण गर्दै आएका सेभेन सिज  इन्टरनेशनलका वितरक प्याट्रिक सुवेदीले यो चलचित्रलाई अब दसैँमा रिलिज गर्न नसकिने भन्दै यसको रिलिज मिति नसार्न दबाब दिएका थिए । यसको जवाफमा निर्माता सरोज ओलीले नेपालमा हिट नभई कुनै पनि चलचित्र विदेशमा नचल्ने भएकाले आफूहरूले दसैँको फूलपातीमै यो चलचित्र रिलिज गरेर नेपालमा हिट बताउने दाबी गरे ।
‘मेरो लगानीमा निर्माण भएको चलचित्रको रिलिज कहिले गर्ने भन्ने अधिकार मसँग छ । त्यसैले कसैले दबाब दिएको खण्डमा हामीले चलचित्र हरिबहादुरको जुत्ताको रिलिज सार्दैनौँ’, निर्माता सरोज ओलीले भने,‘हामीले दसैँको फूलपातीमा रिलिज गर्ने भनेर नेपालका वितरकहरूसँग सोही मितिको लागि रिलिज मिति तय गरेर चलचित्रको छायांकन सुरु गरेका थियौँ ।’
यो चलचित्रका निर्देशक दीपेन्द्र के खनालले पनि ब्युटी न्युज नेपालको जिज्ञासामा चलचित्र हरिबहादुरको जुत्ता पूर्व घोषित मितिमै रिलिज हुने बताए । विदेशी वितरकले यो चलचित्रलाई दसैँ बाहेक अन्य मितिमा रिलिज गर्न दिएको दबाबको बारेमा निर्देशन खनालले भने,‘एउटाको सम्पत्तिमा अर्काको अधिकार हुँदैन । त्यसैले हाम्रो चलचित्र कुन मितिमा रिलिज गर्ने भन्ने अधिकार निर्मातालाई भएकाले निर्माताकै चाहना अनुसार चलचित्र हरिबहादुरको जुत्ता आगामी दसैँको फूलपातीकै दिन रिलिज हुने छ ।’
चलचित्रको अहिले पोस्ट प्रोडक्सनको काम भइरहेको पनि निर्देशक खनालले बताए । आगामी साउनसम्म चलचित्रको सम्पूर्ण काम सकेर आफूहरू दसैँमा रिलिज गर्नको लागि प्रचार प्रसार र मार्केटिङमा जुट्ने पनि उनले बताए । चलचित्र हरिबहादुरको जुत्तालाई अन्तर्राष्ट्रिय बजारमा वितरणको लागि विभिन्न टोलीहरूसँग आफूहरूको वार्ता भइरहेको पनि उनले जानकारी गराए ।
राजनीतिक तथा सामाजिक कथामा निर्माण गरिएका चलचित्र हरिबहादुरको जुत्तामा हरिबंश  आचार्य, स्वस्तिमा खड्का, प्रकाश सपुत, किरण केसी, प्रियंका कार्कीलगायतका कलाकारहरूको मुख्य भूमिका छ ।