ब्युटी न्युज नेपाल
भक्तपुर, ११ वैशाख
अन्तर्राष्ट्रिय शान्ति वक्ता, प्रसिद्ध लेखक एवम् शान्ति दूत प्रेम रावत यति बेला काठमाडौँमा छन् । उनले आज भक्तपुरको सिपाडोलमा हजारौँ श्रोतालाई सम्बोधनसहित शान्ति पक्षमा अपिल गरे । शान्ति वक्ता रावत ११ वर्षपछि नेपालमा आएका हुन् । प्रेम रावत न्युयोर्क टाइम्समा सर्वाधिक विक्री भएको पुस्तक ‘हियर योरसेल्फ’का लेखक पनि हुन् । प्रेम रावतले विश्वशान्ति दूतको भूमिकासँगै करोडौँ मानिसको जीवनमा सकारात्मक प्रभाव पार्दै आएका छन् ।
यसै साता रुपन्देही र आज भक्तपुरमा गरी दुई ओटा कार्यक्रमलाई उनले सम्बोधन गरे । ६ वैशाखमा रुपन्देहीको सैन मैनामा भएको कार्यक्रममा उनले १ लाख भन्दा बढी श्रोतालाई सम्बोधन गरेका थिए । यस्तै आज भक्तपुरमा पनि उनले करिब ४० हजार श्रोतालाई सम्बोधन गरे ।
कार्यक्रममा सम्बोधन गर्दै प्रेम रावतले भने, ‘हामीले प्राप्त गरेको यो जीवन अत्यन्तै दुर्लभ छ । सत्यता के हो ? तीन ओटा कुरा सबैका लागि समान छन्’, पहिलो तपाईँको जन्म भएको छ बताउँदै उनले अगाडि भने,‘दोस्रो तपाईँ अहिले जीवित हुनुहुन्छ र तपाईँभित्र श्वास आइरहेको अनि गइरहेको छ । अनि, तेस्रो चाहिँ एक दिन तपाईँले यो संसारबाट बिदा लिनुपर्ने छ ।’
व्यक्तिले आफ्नो जीवनमा कुन कुरालाई प्राथमिकता दिनु आवश्यक छ भन्ने जिज्ञासामा उनले जीवनमा सदैव आन्तरिक आनन्दको अनुभव गर्नु आवश्यक भएको बताए । यसका लागि आफूभित्र भएका सृष्टिकर्तालाई मान्नु मात्र नभएर चिन्नु नै आवश्यक रहेको उहाँले बताए ।
आत्मज्ञान प्रचार संघले यो कार्यक्रमको आयोजना गरेको हो । उपस्थित सबै सहभागीहरूले यस कार्यक्रमबाट आफूलाई आनन्द मिलेको प्रतिक्रिया दिए । १ सय १० भन्दा बढी देशमा रावतको सन्देश सुन्दै आएको छ । आज यिनै विद्धानले हरेक व्यक्तिलाई आशा र शान्तिको सन्देश प्रदान गर्दै आन्तरिक सुख र शान्ति सम्बन्धी व्यावहारिक मार्ग देखाए ।
उनी ‘द प्रेम रावत फाउन्डेसन’ (टीपीआरएफ) का संस्थापक पनि हुनुहुन्छ । यस संस्थाले भोजन, पानी र शान्तिजस्तो आधारभूत मानवीय आवश्यकतालाई पूरा गर्ने कार्य गर्दछ । यसको पहलस्वरूप ‘जनभोजन’ कार्यक्रममार्फत भारत, नेपाल, घाना र दक्षिण अफ्रिकामा हरेक विपन्न वर्गका बालबालिका तथा अस्वस्थ वयस्कहरूलाई समेत पौष्टिक भोजन प्रदान गर्ने गरिन्छ ।
उनको सन्देशमा आधारित ‘पिस एजुकेसन कार्यक्रम’ १४ सयभन्दा बढी शैक्षिक एवम् अन्य संस्थाहरूमा देखाउने गरिन्छ । यसबाट ५ लाखभन्दा बढी मानिस लाभान्वित भएका छन् । यो कार्यक्रम १ हजारभन्दा बढी जेलमा सञ्चालन भइरहेको छ । यसको प्रभावबाट कैदी बन्दीहरूमा दोहो¥याएर अपराध गर्ने प्रवृत्ति घटेको अध्ययनले देखाएको छ ।
प्रेम रावतका कार्यलाई सरकारी, गैरसरकारी सङ्गठन, व्यापारिक संस्थानदेखि संसारका नागरिक सङ्गठनद्वारा स्वीकार गरिएको छ । उनले ब्रिटेनदेखि लिएर न्युजिल्यान्डसम्मको संसद् तथा हार्वर्ड एवम् अक्सफोर्ड विश्वविद्यालयजस्ता प्रतिष्ठित संस्थानहरूमा सन्देश प्रस्तुत गरिसकेका छन् । सन् २०११ मा प्रेम रावत युरोपियन संघ (ईयू) को एउटा विशेष कार्यक्रममा मुख्य वक्ता थिए । त्यहाँ उनले शान्तिका लागि प्रतिज्ञा’ (प्लेड्ज टु पिस) मा हस्ताक्षर गरेका थिए ।
सन् २०२३ मा प्रेम रावतले टीभी, पत्रपत्रिका र रेडियोसहित विभिन्न सञ्चार माध्यमका सहायताले ९१.६ करोड मानिसहरूसमक्ष यो सन्देश प्रवाह गरेका थिए । उनको ‘लाइफ एसेन्सियल’ नामक पोडकास्ट च्यानललाई १ सय १० भन्दा बढी देशहरूमा सुन्ने गरिन्छ । उनको ‘स्वयम् की आवाज’ र ‘शान्ति सम्भव है’ (पिस इज पोसिबल) पुस्तकलाई संसारभर मन पराइन्छ ।
रावत केवल वक्ता र लेखक मात्र नभएर एक आविष्कारक, संगीतकार, कलाकार, फोटोग्राफर तथा हवाईजहाज र हेलिकप्टरका एक कुशल विमान चालक पनि हुन् । उनीसँग १५ हजार घण्टा हवाई उडान भरेको अनुभव छ ।