वेभ सिरिज खिचिएको खेल अब चलचित्रको रूपमा रिलिज  


ब्युटी न्युज नेपाल
काठमाडौँ, ११ वैशाख 

केही समय यताबाट भूत प्रेतको कथालाई लिएर नेपाली हरर चलचित्रहरू बन्ने क्रम बढेको छ । यसै क्रममा भूत प्रेत र तान्त्रिक कथामा नयाँ चलचित्र खेल निर्माण भएको छ । पाँच जना युवतीहरू बिचको तान्त्रिक दाउपेचको कथामा यो चलचित्र बनेको छ ।

सुरुमा खेललाई वेभ सिरिज बनाइएको थियो । यसलाई नेटफ्लिक्समार्फत रिलिज गर्न लागिएको थियो । तर नेटफ्लिक्सबाट तत्काल रिलिज नभएको पछि खेललाई चलचित्रको रूपमा तयार गरेर हलमा ल्याइएको हो । प्रचार प्रसार ख्यास्सै नभएको यो चलचित्र शुक्रवारबाट अर्को चलचित्र भुठानसँग जुध्दै छ ।

शुक्रवार १२ वैशाखबाट यो चलचित्र ७ दर्जन हलमा रिलिज हुने निर्माण पक्षले जनाएको छ । चलचित्र खेलको बुधवार बेलुका काठमाडौँमा प्रिमियर गरियो । धेरैले यो चलचित्र भूत प्रेतको कथामा राम्रो चलचित्र बनेको प्रतिक्रिया दिए ।चलचित्र खेलमा मुख्य नायिका सुरक्षा पन्त सहित अरू चार जना नयाँ नायिकाहरू हेना नगरकोटी, मोनिका थापा, निकिता आचार्य, समापिका गौतमको काम निकै राम्रो छ । थिएटरमा काम गरेर उनीहरूले चलचित्रमा नायिकाको रूपमा अभिनय गरेका हुन् । अनुराग प्रधान र आस्था श्रेष्ठले निर्देशन गरेको यो चलचित्रका अन्य कलाकारमा मिथिला शर्मा, भोलाराज सापकोटा, सरिता गिरी, किरण श्रेष्ठ लगायत छन् ।

 

बलिउडमा काम गरिसकेका यसका निर्देशक प्रधानले आफूले बलिउडमा सिकेको ज्ञान नेपाली चलचित्रमा लगाएको प्रिमियरका क्रममा बताए । अभिनेत्री सुरक्षा पन्तले नयाँ पुस्ताबाट अन्तर्राष्ट्रिय स्तरको हरर चलचित्र खेल बनेको दाबी गरिन् ।

चलचित्र सिरुपाते कट्स प्रालिको ब्यानरमा निर्माण गरिएको हो, जसका निर्माताहरू लुइसराज महर्जन र आशिष राज महर्जन हुन् भने सह–निर्माताहरू कुमाल राज गुरुङ र रहिशराज महर्जन रहेका छन् । चलचित्रको कथा आशिष राज महर्जनले लेखेका हुन् भने पटकथा अभितेन्द्र र अनुराग प्रधानले तयार पारेका छन् ।