ब्युटी न्युज नेपाल
काठमाडौँ, १० वैशाख
पछिल्लो समय साना बालबालिकाहरूमा मोबाइलको यति धेरै खराब लत बसेको छ की उनीहरू मोबाइल फोन बिना खाना नै खाँदैनन् । मोबाइल खोस्यो कि अभिभावकसँग रुवाबासी गर्छन् । मोबाइल फोन हेर्ने लतका सिकार भएका बालबालिकाको यस्ता समस्याहरू समेटेर निर्माण भएको चलचित्र झिल्को यही वैशाख १९ बाट रिलिज हुँदै छ । चलचित्रको रिलिज मिति नजिकिँदै गर्दा झिल्कोको ट्रेलर सार्वजनिक गरिएको छ ।
ट्रेलरमा पनि मोबाइल सहित विभिन्न डिजिटल प्रविधिले निम्त्याएको समस्यालाई प्रस्तुत गरिएको छ । ट्रेलरको दृश्यांश अनुसार विद्यालयमा पढिरहेकी एक बालिकाले मोबाइल फोन लिएर जाँदा शिक्षकको आक्रोश झेल्नु परेको दृश्यबाट हुन्छ । त्यसपछि, डिजिटल उपकरणप्रतिको लतले बालबालिकाको स्वास्थ्यमा पार्ने प्रत्यक्ष असर, अस्पताल भर्ना हुने अवस्था र निको नहुने रोगजस्ता गम्भीर परिणामहरूलाई उजागर गरिएको छ । स्मार्टफोनको लतले निम्त्याउने पारिवारिक विखण्डन, अभिभावकको बेवास्ता, र अभिभावक – सन्तानबिच बढ्दो दूरी जस्ता समस्या ट्रेलरमा देखाइएको छ ।
चलचित्रमा आयुषी ढकाल, सुनिल पोखरेल, वर्षा सिवाकोटी, विशाल पोखरेल, भोलाराज सापकोटा, जान्वी बस्नेत, जेनीश श्रेष्ठ र जेभीश श्रेष्ठलगायतको शीर्ष भूमिका छ । चलचित्रको निर्देशन यादवकुमार भट्टराईले गरेका हुन् । एक समयको चर्चित र सफल चलचित्र झोलाका निर्देशक यादव हुन् ।
मिडिया फर कल्चर प्रा.लि. को ब्यानरमा निर्माण गरिएको चलचित्रको छायाङ्कनमा दीपक बज्राचार्य, सम्पादनमा निमेष श्रेष्ठ, रंग संयोजन तथा ध्वनि मिश्रणमा श्याम कुँवर, र ध्वनि निर्माणमा उत्तम न्यौपाने रहेका छन् । चलचित्रको कथा तथा पटकथा यादवकुमार भट्टराईले अरुणदेव जोशी र देव व्रतसँग मिलेर तयार पारेका हुन् । यसका कार्यकारी निर्माता उमेश पौडेल हुन् भने निर्माता सुशीला आचार्य, राम गोपाल थापा र किरण कुमार आचार्य रहेका छन् ।