धिरज यसकारण चलचित्र जलाकीमा दोस्रो चरणमा जोडिए


ब्युटी न्युज नेपाल
काठमाडौँ, १० बैशाख

बागलुङको कालिका मन्दिरबाट छायांकन सुरु भएको चलचित्र जलाकीको पहिलो चरणको छायांकन सकिएको छ । यसै क्रममा यसका निर्देशक अशोक थापा मगरले जलाकीमा अभिनेता धिरज मगरलाई अनुबन्धित गरेका छन् । यो चलचित्रमा यस अघि नै धिरजलाई प्रस्ताव गरिएको थियो । तर आफु कुस्तीमा व्यस्त रहेको देखाउँदै उनले यो चलचित्र खेल्न मानेका थिएनन् ।

धिरजले यो चलचित्रमा समय दिन नसक्ने बताएपछि निर्माण पक्ष अन्यौलमा परेको थियो । धिरजले व्यस्ता भन्दा पनि सो चलचित्रकी नायिका उपासना सिंह ठकुरीसँग काम गर्न नचाहेको चर्चा बजारमा चलेको थियो । आफुमाथि यस्तो आरोप आएपछि त्यो आरोपलाई खण्डन गर्दै धिरज यो चलचित्रमा जोडिएका हुन् ।

केही महिना यताबाट धिरज र उपासनाका सम्बन्धमा चिसोपना आएको चर्चा बजारमा चलिरहेको बेला धिरजले जलाकीमा काम नगर्दा धेरैले विभिन्न शँका उपशँका गरेका थिए । अहिले यो चलचित्रमा धिरज अनुबन्धित भएपछि उपासना र धिरजको सम्बन्ध फेरी राम्रो हुने चर्चा फेरी बजारमा सुनिन थालेको छ ।

निर्देशक अशोकले अघिल्लो चलचित्र खुस्मामा धिरज र उपासनालाई जोडी बनाएर काम गरेका थिए । खुस्मा हिट भएको थियो । खुस्मा हिट भएपछि भने धिरजले आफ्नो पारिश्रमिकमा पनि राम्रो अंकले बृद्धि गरेका थिए । यही कारण यो बिचमा धिरजलाई दिने भनेर बार्तामा बसेका दुई वटा चलचित्रका निर्माताले उनको पारिश्रमिक महँगो भयो भनेर उनको बिकल्पमा अरु अभिनेतासँग कुरा गरिरहेका छन् ।

चलचित्र खुस्मबाट धिरज र उपासनाको मित्रता निकै प्रगाढ भएको थियो । बिचमा उनीहरुको सम्बन्ध चिसिएको चर्चा चले पनि अहिले फेरी धिरज र उपासना चलचित्र जलाकीमा सँगै काम गर्दैछन् । चलचित्र जलाकीको पहिलो चरणको छायांकन सकिएपछि धिरज जोडिएका हुन् । अब यो चलचित्रको दोस्रो चरणको छायांकन सुरु भएपछि धिरज चलचित्रको छायांकनमा जोडिने छन् । गत साता मात्र चलचित्र कुस्तीको छायांकन सकेर धिरज चलचित्र जलाकीमा अनुबन्धित भएका हुन् ।

त्रिकोणात्मक प्रेम कथामा आधारित यो चलचित्रमा अब धिरजसँगै सोनम तोप्देन, उपासना सिंह ठकुरी, अस्तित्व भट्टचन र आकृति राजभण्डारीको मुख्य भुमिका रहेको छ । खुस्माबाट डेब्यु गरेका अस्तित्व भट्टचन यो चलचित्रमा शिर्ष भूमिकामा छन् भने् मोडल आकृति राजभण्डारीको जलाकी डेव्यु चलचित्र हो । यो चलचित्रमा माओत्से गुरुङ, बुद्धि तामाङ, संगीता थापा मगर, राजु रेग्मी मगर, खड्क बहादुर पुन (खबपु) लगायतका कलाकारको पनि अभिनय रहनेछ ।

यम मिडिया प्रालीको ब्यानरमा निर्माण हुन लागेको सिनेमाका निर्मातामा ओम घर्तीमगर, वीर बहादुर लामा, चन्द्र बहादुर भट्टचन, बेताने मगर (बबिता राना) मान बहादुर धनाह मगर र सुस्मिता बुढाथोकी रहेका छन् ।