ब्युटी न्युज नेपाल
काठमाडौँ, १ बैशाख
नयाँ वर्ष २०८२ को अवसर पारेर नयाँ चलचित्र जारी २ को निर्माण घोषणा गरिएको छ । यो चलचित्रमा जारी कै कलाकारहरु अभिनेता दयाहाङ राई, विजय बराल र अभिनेत्री मिरुना मगरको मुख्य भूमिका रहेको छ । अघिल्लो चलचित्र जारीको सिक्वेलको रुपमा जारी २ निर्माण घोषणा गरिएको हो । नेपाली नयाँ वर्ष २०८२ मा आज यो चलचित्रको फस्टलुक्स पनि सार्वजनिक गरिएको छ । फस्ट लुक्स सार्वजनिकसँगै ‘जारी २’ निर्माण घोषणा गरिएको हो ।
सिनेमाको निर्माण टिमले सोमबार सार्वजनिक गरेको पोस्टरमा अभिनेता दयाहाङ राईलाई च्याब्रुङ बजाउँदै गरेको अवस्थामा प्रस्तुत गरिएको छ । यो सिनेमालाई स्लोगन सङ्ग अफ च्याब्रुङ राखिएको छ । ‘जारी २’मा २०८० सालको ब्लकबस्टर सिनेमाका ‘जारी’का निर्देशक उपेन्द्र सुब्बाको नै लेखन तथा निर्देशन रहनेछ । यो सिनेमा यही वर्षको दशैंमा रिलिज गरिने समेत सार्वजनिक पोस्टरमा उल्लेख गरिएको छ ।
बाँसुरी फिल्मस् र कबड्डी फिल्मस्को व्यारमा निर्माण हुने जारी २ लाई रामबाबु गुरुङले निर्माण र उपेन्द्र सुब्बाले निर्देशन गर्नेछन् । यो सिनेमाको सम्पुर्ण छायांकन पाँचथरको विभिन्न पर्यटकिय गन्तव्यमा गरिनेछ । जारी पछि अगल भएका उपेन्द्र र रामबाबुलाई यसपटक जारीले जोडेको छ ।
बैशाख तेस्रो साताबाट फ्लोरमा जाने सिनेमामा दयाहाङ, विजय र मिरुनासँगै ऋचा शर्मा, बुद्धि तामाङ, पुष्कर गुरुङ, प्रेम सुब्बा, माओत्से गुरुङ, मानहाङ लावती, बिष्णु मोक्तान, कमलमणी नेपाल, अनिल सुब्बा, रेखा लिम्बु, बेदना राई र सिर्जना निङ्लेखुको अभिनय रहनेछ । उपेन्द्र सुब्बाको डेव्यु निर्देशन गरेको जारीले नेपाली बक्सअफिसमा १७ करोड माथीको व्यापार गरेको थियो ।