ब्युटी न्युज नेपाल
काठमाडौँ, २५ चैत
शुक्रबार चैत्र २२ बाट मुलुकका चलचित्र घरमा प्रदर्शन भईरहेको प्रकाश सपुतको डेव्यु निर्देशन चलचित्र ‘वसन्त’ विभिन्न चलचित्र घरमा प्रदर्शन भईरहेको छ । यो चलचित्र उठाएको विषयवस्तु, गीतसंगीत पक्ष र प्रस्तुतिको प्रशंसा दर्शकले गरिरहेका छन् ।
यो सिनेमा हेर्न पुगेका दर्शकहरूलाई प्रकाशले केही सरप्राइज पनि दिएका छन् । जसमा अभिनेता राजेश हमालसहित आधा दर्जन कलाकारहरु अतिथि भूमिकामा छन् । यसमा दीलिप रायमाझी, निश्चल बस्नेत, नाजिर हुसेन, अभिनेत्रीहरू करिश्मा मानन्धर, केकी अधिकारी, प्रियंका कार्की, सुरक्षा पन्त पनि अतिथि भूमिकामा रहेका छन् । उनीहरु एक दृष्य देखि तीन दृष्यसम्म अतिथि भूमिकामा छन् ।
उनीहरुसँगै वसन्तमा लोकदोहोरीकी गायिका शान्तिश्री परियार, मोडल अञ्जली अधिकारी पनि अतिथि भूमिकामै छन् । वसन्तमा यति धेरै चर्चित कलाकारहरूको अभिनय रहेपनि निर्देशक तथा अभिनेता प्रकाश सपुतले यसबारे प्रदर्शनअघि कुनैपनि खुलासा गरेका छैनन् । सिनेमा रिलिज पश्चात यी कलाकारहरूको दृश्यको भिडिओ क्लिप टिकटकमा समेत भाइरल भइरहेका छन् ।
कतिपयले यति ‘वसन्त’मा धेरै कलाकारहरूको विशेष भूमिकामा रहेपनि निर्देशक तथा अभिनेता प्रकाशले किन रिलिजअघि खुलाउन चाहेनन् भन्ने चासो समेत राखिरहेको सार्वजनिक फेसबुक रिल्स र टिकटकमा व्यक्त गरेका छन् । प्रदर्शनअघि यी कलाकारको बारेमा जानकारी दिएको भए यसले सिनेमाको व्यापारमा समेत प्रभाव पार्ने धारण दर्शकको छ । यी कलाकारहरूको भूमिका कस्तो छ र कति महत्त्वपूर्ण छ त्यो भने हलमा सिनेमा हेर्न पुगेका दर्शकले महसुस गर्छन् ।
वसन्तमा प्रकाशसहित स्वस्तिमा खड्का, खड्गबहादुर पुन (खबपु), प्रभात पाल ठकुरी, श्री शिभांसी, उर्मिला लाम्गादे, अनुप बराल, प्रकाश घिमिरे लगायत कलाकारको अभिनय छ । मोहन विश्वकर्मा र बिन्दु बोहोरा निर्माता तथा कार्यकारी निर्मातामा बिरेन्द्र नारायण श्रेष्ठ, अनुरोध भट्टराई र नाना थकाली छन् ।