ब्युटी न्युज नेपाल
काठमाडौं, १५ चैत
आज साँझ ४ः३० बजेबाट तीनकुने क्षेत्रमा कफ्र्यु लागेपछि सो क्षेत्रमा नेपाली सेना परिचालन गरिएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले बनेश्वर तिनकुने, कोटेश्वर लगायतका क्षेत्रमा कफ्र्यु आदेश जारी गरेको हो ।
सेनाले सुरक्षाको लागि सो क्षेत्रमा गस्ती गरिरहेको हो । राति १० बजेसम्मको लागि कफ्र्यु आदेश जारी भएको जिल्ला प्रशसन कार्यालय काठमाडौंले जनाएको छ । गौशलादेखि एयरपोट, गैरीगाउँ, तीनकुने हुँदै कोटेश्वर क्षेत्रमा कफ्र्यु जारी भएको छ । त्यस्तै कोटेश्वरदेखि जडिबुटी पुल, र कोटेश्वरदेखि बालकुमारी पुलमसम्म पनि कफ्र्यु लगाएको हो । सो क्षेत्रमा आवतजावत गर्न, कुनै प्रकारका भेला, जुलुस, प्रर्दशन, सभा, बैठक, घेराउन गर्न नपाउने गरी कफ्र्यु जारी भएपछि नेपाली सेना अवस्था नियन्त्रणमा लिन सडकमा परिचालित भएको प्रशासनले जनाएको छ ।
यस्तै बानेश्वर चोकदेखि शंखमुल पुलसम्म र गौशलादेखि पुरोनोबानेश्वर हुँदै नयाँबानेश्वर चोकसम्म चारकिल्ला मानेर त्यसभित्रका क्षेत्रमा कफ्र्यु आदेश जारी भएको जिल्ला प्रशासन कार्यालय काठमाडौंले जनाएको छ । कफ्र्यु लागेको समयमा सुरक्षा निकायलाई गोली हान्नेसम्मको अधिकार रहन्छ ।