ब्युटी न्युज नेपाल
काठमाडौँ, १३ चैत
अनन्या फिल्मस् प्रालीद्धारा निर्मित चलचित्र ’जेरी अन टप’को छायांकन सम्पन्न गरेको छ । यो चलचित्रको दुईवटा गीतको छायांकन भने बाँकी छ । सोमबार हिमालपारीको जिल्ला मुस्ताङमा फिल्मको छायांकन सम्पन्न गरेर कलाकार सहितको निर्माण टिम काठमाडौं रिटर्न भएको छ । निर्माता सरोज न्यौपानेले भने, ’उत्कृष्ट फिल्म तयार हुनको लागि आवश्यक कुनै पक्षमा सम्झौता गरिएको छैन् ।’
यो फिल्ममा अभिनेता अनमोल केसी अभिनेत्रीद्वय आँचल शर्मा र जसिता गुरुङ, हास्य अभिनेता केदार घिमिरे ’माग्नेबुढा’, अभिनेता भुवन केसी, अभिनेत्री सुरक्षा पन्त र उषा खड्की यो फिल्ममा प्रमुख अभिनयमा छन् ।
कलाकारको लाइनअपदेखि छायांकनसम्म पुग्दा फिल्मको बजेट झण्डै ६ करोड पुगेको निर्माता न्यौपानेले बताए । गत सातामात्रै यो फिल्मको अन्तर्राष्ट्रिय वितरण तथा प्रदर्शन अधिकार बिक्री भएको थियो । हङकङमा स्थापना भएको एलजी एसोसिएट्सले ३ करोड बढि एमजी (मिनिमम ग्यारेन्टी) मा ’जेरी अन टप’को विदेश राइट्स खरिद गरेको बताइएको छ । यद्यपि रकम भने दुबै पक्षले खुलाएका छैनन् । न्यौपानेले विदेश प्रदर्शन अधिकार बिक्री हुँदा फिल्मको आधा लगानी ’कभर’ भइसकेको बताए ।
सुयोग गुरुङको निर्देशनमा तयार यो फिल्मको प्रदर्शन मिति तय भइसकेको छैन । वितरण कम्पनिसँगको सल्लाहमा केहि दिनमै फिल्मको प्रदर्शन मिति सार्वजनिक गरिने निर्माता न्यौपानेले बताए । फिल्ममा समावेश हुने एक गीत नेपालमा र एक गीत भारतका छायांकन गरिने निर्माण टिमले बताएको छ ।
सगरमाथा बेसक्याम्प, काठमाडौं, मुस्ताङ लगायतका ठाउँमा यो फिल्म खिचिएको छ । फिल्मका केहि दृश्य काठमाडौंमा झण्डै एक करोडको लागतमा तयार गरिएको सेटमा छायांकन गरिएको थियो ।