तेस्रो सातामा चलचित्र ’अञ्जिला’, दुई सातामा ९ करोड माथिको व्यापार


ब्युटी न्युज नेपाल
काठमाडौं, १४ चैत

नेपाली चलचित्र ’अञ्जिला’ले आफ्नो सफल प्रदर्शनीको दुई साता पुरा गरेको छ । यो चलचित्रले दोस्रो सप्ताहन्तसम्म १४ दिनमा नेपालमा ९ करोड भन्दा माथिको व्यापार गरेको छ । यो व्यापारसँगै चलचित्र अञ्जिला सुपरहिट चलचित्रको सूचीमा उक्लेको छ । यो चलचित्र गत फागुपूर्णिमाबाट प्रदर्शनमा आएको थियो ।

यसका वितरक करण श्रेष्ठका अनुसार अञ्जिलाले मंगलबारसम्म सफल प्रदर्शनीको १३ औँ दिनमा नेपालमा ८ करोड ७० लाख रुपैयाँको ग्रस ब्यापार गरेको छ । दुई साता पुरा गर्दा यसको व्यापार घरेलु बक्स अफिसमा ९ करोड नाघेको करणले बताए ।

यस्तै यो चलचित्रले तेश्रो सातामा पनि उल्लेख्य हलहरु पाएको र दर्शकको उपस्थिति राम्रो रहेको यसका निर्देशक मिलन चाम्सले बताएका छन् । अहिले एसईईको परिक्षा चलेको भए पनि यसको व्यापार राम्रो छ । अबको चार दिनमा एसईईको परिक्षा सकिएपछि यो चलचित्रको व्यापार अझ राम्रो हुने आशा गरिएको छ ।

युईएईलगायतका मुलुकमा बिहिबारबाट चलचित्र अञ्जिला रिलिज भएको छ भने विश्वभरका अन्य १६ देशमा शनिबारबाट यो चलचित्र प्रदर्शनमा आउँदै छ । नेपालको प्रतिक्रिया हेरी ओभरसिज वितरकहरूले चलचित्रको माग गरेको निर्देशक चाम्सले बताए ।

यो चलचित्र नेपाली महिला राष्ट्रिय फुटबल टिमकी कप्तान एन्जिला तुम्बापो सुब्बाको जीवनीमा आधारित छ, जसमा एन्जिला आफैँले प्रमुख भूमिकामा अभिनय गरेकी छन् । चलचित्रमा उनको बाल्यकालदेखि खेल जीवनसम्मको संघर्ष र सफलताको कथा प्रस्तुत गरिएको छ । यसमा एन्जिलासँगै सुनिल थापा, दयाहाङ राई, विजय बराल, सिर्जना सुब्बा, माओत्से गुरुङ, सुमीन गुरुङ, बुद्धि तामाङ, यसका निर्माता प्रेमकुमार श्रेष्ठलगायतका कलाकारहरूको अभिनय रहेको छ ।

यस्तै यो चलचित्रकी मुख्य अभिनेत्री एवम् राष्ट्रिय महिला फुटबलकी क्याप्टेन एन्जिला तुम्बापो सुब्बा शुक्रबार बिहान काठमाडौँ आउँदैछिन् । उनी ग्रिसबाट त्यहाँको महिला फुटबल क्लवमा फुटबल खेलेर नेपाल फकिँदै गरेकी हुन् । उनले शुक्रबारबाटै काठमाडौँ उपत्यकाका विभिन्न हलमा पुगेर दर्शसकसँग आफ्नो चलचित्रको सफलताको खुसी बाँड्ने छिन् । दर्शकसँग उनले हल हलमा भेट्ने कार्यक्रम रहेको यसका निर्देशक चाम्सले जानकारी गराएका छन् । यसपछि एन्जिलाले देशका विभिन्न शहरमा पुगेर त्यहाँका दर्शकसँग पनि आफ्नो चलचित्र हेर्ने कार्यक्रमको पनि तयारी गरिँदैछ ।