श्रम मन्त्री भण्डारीद्वारा पिटिइवर्क एपको उद्घाटनसँगै सेवा सुरु 


ब्युटी न्युज नेपाल
काठमाडौँ, १२ चैत

श्रम दिने रोजगारदाता र श्रम गर्ने श्रमिकलाई एउटै एपमा जोडेर सेवा लेनदेन गर्नको लागि नेपालमा पार्ट टाइम इजि वर्क (पिटिइवर्क) एपको सञ्चालनमा आएको छ । मंगलवार काठमाडौँको शंकर होटेलमा एक समारोहको बिच यो एपको उद्घाटन गरिएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरत सिंह भण्डारीले यो पिटिइवर्क एपको उद्घाटन गरे ।

कार्यक्रमलाई सम्बोधन गर्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री भण्डारीले यो एपले मुलुकमा डिजिटल पोर्टलको माध्यमबाट दक्ष जनशक्ति उत्पादनमा सघाउ पुग्ने बताएका छन् । उनका अनुसार एपको मूल नारा नै डाइरेक्ट डिल, नो किचकिच हो । यो एपमार्फत नेपालका सबै ठाउँका श्रमिक र रोजगारदातालाई सजिलो हुने विश्वास मन्त्री भण्डारीले कार्यक्रममा व्यक्त गरे । सरकारद्वारा गाउँ गाउँमा सिपमूलक कार्यक्रम लाने तयारी भइरहेको बेला यो एपले रोजगारी सिकेकाहरूलाई काम पाउन सजिलो हुने विश्वास व्यक्त गरे । एपको माध्यमबाट एक ठाउँको कामदारले अर्को ठाउँमा सजिलै काम पाउने पनि उनले बताए ।

उक्त कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष दशरथ गिरीले यो एपले रोजगारदाता र श्रमिकबिचको सम्बन्धलाई एउटा पुलको भूमिका निवार्ह गर्ने बताएका छन् । गिरीका अनुसार उक्त एपको मुख्य उद्देश्य नै श्रमिक र श्रमदाता बिच सहकार्य गराउने माध्यम हो । यो एपबाट अहिले विभिन्न ३ दर्जन वटा रोजगारी गर्ने र गराउनेबिच सम्बन्ध जोड्न कार्य सुरु भएको पनि उनले बताए । यसको लागि मोबाइलको प्ले स्टोरमा गएर पिटिइवर्क एप डाउनलोड गरेर आफ्नो नाम र पेसा दर्ता गरी आजैबाट यो सेवा लिन पनि एप कम्पनीका अध्यक्ष दशरथले बताए ।

कार्यक्रममा यो एपका ब्रान्ड एम्बेस्डर अभिनेता प्रवण भुसाल र गायिका, अभिनेत्री एवम् सञ्चारकर्मी सरिता भारतीसहित विभिन्न व्यक्तित्वको उपस्थिति थियो ।