ब्युटी न्युज नेपाल
काठमाडौं, १० चैत
यही चैत १५ गते रिलिज हुने नेपाली चलचित्र ’डोरी’का १० वटा ’क्यारेक्टर पोस्टर’हरू एकसाथ सार्वजनिक गरिएको छ । चलचित्रमा निर्देशक अरुण लामासँगै १० पात्रले प्रमुख भूमिका निभाएका छन् । तिनै पात्रको पोष्टर सार्वजनिक गरिएको हो ।
जसमा चलचित्रका कलाकारहरू अरुण लामा, अञ्जना बराइली, राज पौडेल, राज थापा, प्रवीण खतिवडा, प्रकाश घिमिरे, नूतन, शिशिर बाङ्देल, कविता आले, वीरेन्द्र सिंह कुशवहा रहेका छन् । चलचित्रको कथा भित्र कलाकारहरूको भूमिकामा आधारित रही पोस्टरहरू तयार गरिएको छ, जहाँ चलचित्रका धेरैजसो पात्रहरूको परिचय पाइन्छ ।
प्रदर्शनको नजिक रहँदा सार्वजनिक पोस्टरहरूमा ’खुसीको कथा, दोस्तीको कथा, जलनको कथा, योद्धाको कथा, डरको कथा, निराशाको कथा, लोभी साहुको कथा, तस्करीको कथा, सङ्घर्षको कथा, इमानदारीको कथा र पीडित ऋणीको कथा’ राखिएको छ ।
‘डोरी’को लेखन तथा निर्देशन अरुण लामाले गरेका हुन् । चलचित्रका निर्माता दिनेश भट्टराई हुन् भने कार्यकारी निर्माता राज थापा रहेका छन् ।
चलचित्रको स्क्रिप्ट डाक्टर मनोज पण्डित हुन् भने मुख्य सहायक निर्देशक दिनेश बहादुर रावत, एक्सन निर्देशक राजु तामाङ, सङ्गीत निर्देशक राजनराज सिवाकोटी, छायाङ्कन निर्देशक सौरभ लामा, कला निर्देशक रोशन दिवाना, सम्पादक मिलन श्रेष्ठ, रङ्ग संयोजक रेनीश फागो रहेका छन् ।