ब्युटी न्युज नेपाल
काठमाडौँ, ९ चैत
चलचित्र विकाश बोर्ड अन्तर्गतको चलचित्रकर्मी कल्याणकारी कोषद्धारा बाढी पहिरो प्रभावित चलचित्रकर्मीहरूलाई आर्थिक सहयोग प्रदान गरिएको छ । कोषद्धारा यस अघि २०७२ सालको भूकम्प पीडितलाई पनि आर्थिक सहयोग प्रदान गरिएको थियो । तर त्यतिबेला अध्यक्ष राजकुमार राईले सबैलाई राहत प्रदान नगरेर आफ्नो पार्टी नेपाली काँग्रेस नजिकका चलचित्रकर्मीलाई मात्र भूकम्प पीडितको राहत प्रदान गरेको आरोप खेप्नु परेको थियो । तर यसपटक भने गत असोजको विनासकारी बाढीबाट पीडितहरुलाई सम्बन्धित स्थानीय निकायको सिफारिसमा यतिबेला राहत प्रदान गरिएको हो ।
चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डीसी र चलचित्रकर्मी कल्याणकारी कोषकी अध्यक्ष बसुन्धरा भुसालद्धारा प्रत्येक बाढी पहिरो पीडित चलचित्रकर्मीलाई जनही ४५ हजारको दरले राहत प्रदान गरिएको हो ।
यस योजनाअन्तर्गत नेपाल चलचित्र कलाकार संघ, नेपाल चलचित्र प्राविधिक संघ, र नेपाल चलचित्र द्वन्द्व कलाकार संघका सदस्यहरू यादव सिटौला, शिवप्रसाद चोलागाईं, सन्तु तामाङ, कुल प्रसाद हुमागाईं, गोकुल हुमागाईं, ज्ञान बहादुर तामाङ, र फणिन्द्र बहादुर विक लाई राहत प्रदान गरिएको छ।
चलचित्रकर्मी कल्याणकारी कोषकी अध्यक्ष बसुन्धरा भुसाल ले राहत वितरण कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाउँदै भनिन्, ‘चलचित्र क्षेत्रका श्रमिकहरूको सुरक्षाका लागि कल्याणकारी कोषले आफ्नो जिम्मेवारी पूरा गर्दै जानेछ ।’
सो कार्यक्रमका प्रमुख अतिथि एवम् चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डीसी ले चलचित्रकर्मीहरूको हितका लागि बोर्ड निरन्तर क्रियाशील रहने बताएका छन्। उनले भने, ‘चलचित्रकर्मीहरूका समस्या समाधान गर्न चलचित्र विकास बोर्ड सधैं संवेदनशील छ। प्राकृतिक विपत्तिमा परेकाहरूलाई सहयोग गर्न पाउनु हाम्रो दायित्व पनि हो ।’
डिसीका अनुसार नेपाली चलचित्र क्षेत्रका श्रमिकहरूको हित र सुरक्षाका लागि कल्याणकारी कोषको यो महत्वपूर्ण कदम हो ।