हिउँको गीतको फस्ट लुक्स र मोसन पोस्टर सार्वजनिक


ब्युटी न्युज नेपाल
काठमाडौँ, ६ चैत

रंगकर्मी विमल सुवेदीको लेखन तथा निर्देशनमा तयार भएको पहिलो चलचित्र ‘हिउँको गीत’को फस्ट लुक्स (पोष्टर) र मोसन पोस्टर एकसाथ सार्वजनिक गरिएको छ । सार्वजनिक पोस्टरले चलचित्रका मुख्य कलाकारलाई समेटिएको छ । पोष्टरमा मुख्य कलाकारहरु समेटिएका छन् ।

‘हिउँको गीत’मा वर्षा राउत, जोयस पाण्डे, आकाश खतिवडा, ईशिर कर्माचार्य र पूजा चन्द केन्द्रिय भूमिकामा रहेका छन् । उनीहरुलाई पोष्टरमा समेटिएको छ । चलचित्रको ओहायो राज्यको क्लिभल्यान्ड र पेन्सलभेनिया राज्यको पिट्सबर्ग सहरमा छायांकन गरिएको हो । फिल्मलाई ह्याप्पी होम स्टुडियोजको लागि जोयश पाण्डेय, विमल सुवेदी र समुन्द्र राज घिमिरेले निर्माण गरेका हुन् । लेखनमा विमललाई साँघुरो चलचित्रका निर्देशक जोयश पाण्डेले पनि सहकार्य गरेका छन् ।

चलचित्रले नेपाली भाषी भुटानी तथा नेपाली आप्रवासीको कथा सशक्त रुपले समेटेको विमल सुवेदीको भनाइ छ । चलचित्रमा भुटान, नेपाल र अमेरिकामा जन्मेहुर्केका फरक फरक पुस्ताका सपना, आकांक्षा, पहिचानको संकट, संघर्ष, नेपाली भाषी भुटानीहरु माथि त्यतिबेलाको शासकले गरेको चरम अन्याय, अत्याचार, बर्र्बरता र चरम यातना समेटिएको सुवेदीले जानकारी गराए ।

चलचित्रलाई जिया कुइँकेल खतिवडा, करुण कुइँकेल, कौशिला खनाल कर्माचार्य, आकाश खतिवडा र मनोरथ खनालले कार्यकारी निर्माताको रुपमा र राकेश भट्टराई, रमेश लुइँटेल र पुण्य कुइँकेलले सह निर्माताको रुपमा निर्माणमा सघाएका छन् । ओहायो राज्यको एक्रोन, कोलम्बस, पेन्सिलभेनिया वरिपरिका नेपालीभाषी भुटानी समुदायको सहजीकरणमा तयार भएको फिल्मको निर्माणमा थिएटर भिलेज र गाउँ स्टुडियोको पनि सहकार्य रहेको छ । चलचित्रमा थोमस किथ स्कट, केदार उप्रेती, आर बी खड्का, अर्जुन रसाइली, मनोरथ खनाल आदिको अभिनय रहेको छ ।

फिल्ममा पेन्सलभेनियाको ह्यारिसबर्ग तथा ओहायोको कायाहोगा फल्स, एक्रोन, कोलम्बस, सनसाइन तेक्वान्दो तथा नृत्य एकेडेमी, इन्टा फाउन्डेसनका चार दर्जनभन्दा बढी कलाकारले अभिनय गरेका छन् । फिल्ममा नेपाल, भुटान, ताइवान, चीन, मेक्सिको मूलका फिल्मकर्मीले काम गरेका छन् ।

यो चलचित्रलाई चिनइन गाउले खिचेका हुन् भने निशान घिमिरेले सम्पादन गरेका छन् । आयुषा सञ्जेल सहायक निर्देशक रहेको फिल्ममा दिकेश खड्गी शाहीको ध्वनि रेकर्ड तथा सम्पादन, देउकुमार राई नेतृत्व समूहको कला निर्देशन, शंकर बिसी र कौशिला खनाल कर्मचार्यको नृत्य निर्देशन रहेको छ । चलचित्रमा कौशिला खनाल कर्मचार्य, आर. बी. खड्का, डम्बर नेपाली, प्रतिमा श्रेष्ठको शब्द, तथा कालिप्रसाद बास्कोटा, मदन गोपाल, डम्बर नेपाली, अर्जुन रसाइलीको संगीत तथा गायन रहेको छ ।