१२ देशका १७ नाटक सहित नेपाल अन्तर्राष्ट्रिय नाटक महोत्सव सुरु


ब्युटी न्युज नेपाल
काठमाडौं, ६ चैत

काठमाडौँको थापागाउँ स्थित मण्डला थिएटरमा ‘तेस्रो नेपाल अन्तर्राष्ट्रिय नाटक महोत्सव २०२५’ (निट फेस्ट) बुधबारबाट सुरु भएको छ । नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानकी कुलपति निशा शर्मा पोखरेले यो नाटक महोत्सवको बुधवार उद्घाटन गरिन् । बुधबारबाट आगामी १२ चैतसम्म एक साता यो महोत्सव चल्ने छ ।

महोत्सवको उद्घाटनमा सबैलाई स्वागत गर्दै महोत्सव निर्देशक दयाहाङ राईले रैथाने संस्कृति प्रवर्धनको उदेश्यसहित महोत्सव आयोजना गरिएको बताए । यसपटक १२ देशका १७ वटा नाटक प्रस्तुत गर्न लागेको पनि उनले बताए ।

महोत्सवको उद्घाटन समारोहमा नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानकी कुलपति निशा शर्मा, नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति नारदमणी हार्तमछाली, नेपाल नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशी, चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसी, चाइना थिएटर असोएसिनका महासचिव ली हाई ची, जापानकी थिएटर निर्देशक इरिना सजी, जिआइजेटकी शान्ति सल्लाहकार मालिन फेट्याटलगायतले यो नाटक महोत्सवको सफलताको शुभकामना ब्यक्त गरे ।

महोत्सव संयोजक केदार श्रेष्ठले यस पटक यो महोत्सव काठमाडौँसँगै पोखरा, नारायण घाट र बेलबारीमा पनि आफूहरूले एकसाथ आयोजना गर्न लागेको बताए ।
महोत्सवमा नेपालसँगै जापान, भारत, चिन, जर्मनी, ट्युनेशिया, स्पेन, लिथुएनीया, इरान, बेलायत, स्कटल्यान्ड, नर्वे गरी १२ देशका नाटक मञ्चन हुँदै छन् । विभिन्न ११ मुलुकबाट यो महोत्सवका लागि १०० जना भन्दा बढी रंगकर्मीहरू यो महोत्सवमा सहभागी हुँदैछन् ।

नाटकको उद्घाटन समारोहमा मण्डला थिएटरकी निर्देशक पशुपति राईको निर्देशनमा नाटक ‘उम्लिँदो खरानी र लेम्लेम्मा’ मञ्चन गरियो । यो नाटकमा सोही थिएटरका कलाकारहरूले अभिनय गरेका थिए । यो नाटकमा रैथाने संस्कृतिलाई स्थान दिइएको थियो । नाटकको निर्मातामा विजय बराल रहेका थिए ।

यही महोत्सवमा तीन वटा नाट्य कार्यशाला पनि आयोजना गरिँदै छ । हरेक दिन मञ्चन हुने नाटक हेरेर चित्रकारहरूले चित्रकला सृजना गर्नेछन् । ती चित्रकलालाई महोत्सव स्थलमा प्रदर्शन गरिने भएको छ ।

यसै गरी महोत्सवमा कविता वाचन कार्यक्रम तीन वटा राखिएको छ । कार्यक्रममा दुई दर्जन कविहरुले कविता वाचन गरिरहँदा नाट्यकर्मीहरूले त्यसमा अभिनय समेत गर्नेछन् ।

यस पटक नाटक महोत्सवमा नाटक मञ्चनसँगै नाटक सम्बन्धी तीन वटा विमर्श र तीन वटा छलफल कार्यक्रम राखिएको छ । महोत्सवमा नेपाली रंगमञ्च र सिनेमाको मितेरी पथ, नेपाली मिडियाको आँगनमा रंगमञ्च, राजनीतिमा कला नीति, सिमली छायामा बसी, गाउँ गाउँमा सिंहदरबार, ठाउँ ठाउँमा थिएटर, लाइट अफ इन्डिजिनियस विजडम जस्ता शीर्षकमा विमर्श र छलफल हुँदैछ ।