ब्युटी न्युज नेपाल
काठमाडौँ, ४ चैत
चलचित्र चलचित्रका कलाकारहरूको छाता संस्था नेपाल चलचित्र कलाकार संघको २० औं साधारण काठमाडौँमा मनाइएको छ । समारोहमा विभिन्न कलाकारहरू पुरस्कृत भएका छन् ।
पाँच दशकदेखि अभिनयमा सक्रिय चरित्र अभिनेता श्री मुकुन्द किशोर भट्टराई, चार दशकदेखि अभिनय क्षेत्रमा क्रियाशील चरित्र अभिनेता श्री लय संग्रौला र चार दशकदेखि अभिनयमा संलग्न अभिनेता पूरण जोशीलाई क्रमशः नेपाल चलचित्र कलाकार संघको २०७९, २०८० र २०८१ सालको पुरस्कार सो समारोहमा प्रदान गरियो । नेपाल चलचित्र कलाकार संघ पुरस्कारको राशि जनही ७५ हजार रुपैयाँ रहेको छ ।
यस वर्षको शान्ति मास्के स्मृति पुरस्कार अभिनेत्री गौरी मल्ल लाई प्रदान गरियो । चार दशकदेखि अभिनयमा योगदान दिँदै आएकी अभिनेत्री गौरी यति बेला आमाको अशौचमा रहेकी छिन् । यो पुरस्कारको राशि ५६ हजार रुपैयाँ थियो ।
संघले गोपाल राउत स्मृति पुरस्कार अमेरिकामा रहेकी कलाकार रामकाजी घिमिरेलाई प्रदान गरिएको छ । यो पुरस्कारको राशि १० हजार रुपैयाँ थियो । त्यस्तै, संघले प्रत्येक वर्ष प्रदान गर्दै आएको विशेष सम्मान यस पटक डा. रूपक घिमिरे, अभिनेता धिरेन शाक्य, सञ्चारकर्मी कृष्ण भट्टराई, कलाकार गीता अधिकारी, अभिनेत्री अनु शाह र एयर सेल ट्राभललाई प्रदान गरेको छ ।
समारोहमा संघका अध्यक्ष एवं समारोहका सभापति मोहन निरौलाले नेपाली चलचित्र कलाकारहरूको छातासंगठन नेपाल चलचित्र कलाकार संघको स्थापना देखी लिएर अहिलेको अवस्थासम्म ल्याई पुर्याउने सम्पूर्ण अग्रज व्यत्तित्वहरुलाई सम्मान गर्दै आफूले पदभार ग्रहण गरेपछि हालसम्म संघले गरेका गतिविधि र कार्य प्रगतिबारे विस्तृतमा प्रकाश पारेका थिए ।
त्यस्तै नेपाल चलचित्र कलाकार संघकी संरक्षक एवम् विशिष्ट अभिनेत्री वसुन्धरा भुसालले चलचित्रका कार्यक्रमहरूमा कलाकारहरूले अनुशासनको महत्त्व अझै नबुझेको भन्दै सम्पूर्ण कलाकारहरूले कार्यक्रममा नसकिए सम्म आनन्दले बसिदिनू पर्छ जसरी सुटिङ स्थलमा निर्देशकले प्याक अप नभनुन्जेल सेटबाट निस्कन मिल्दैन, यस्तै अनुशासन हरेक ठाउँमा हुन जरुरी रहेको बताइन् । आफ्नो नेतृत्वमा संघले मेरो पालामा राखेको पुरस्कार यसरी स्थापना गरेर विशिष्ट व्यक्तित्वहरूले पाएकोमा मैले आफूले नै पाएको महसुस गरेको बताइन् । साथै दुःखमा मात्रै संघलाई गुहार्ने र सुखमा लात मार्ने नगर्नु होला भन्दै दुःख र सुख सबैमा संघलाई हरेक कलाकारले साथ साथै लैजान जरुरी रहेको बताइन् ।
समारोहमा सम्मानित व्यक्तित्वहरूको प्रतिनिधिको रूपमा बोल्दै विशिष्ट कलाकार लय संग्रौलाले यो सम्मान मैले रंगमञ्च देखी चलचित्र हुँदै टेलिभिजनको यो यात्रामा आइपुग्दा सम्म मैले भोगेका कठिनाइ, मैले बिताएका भोका रातहरूको उपज र भोगाइको उपज हो यो सम्मान भन्दै त्यो वेला उमेर जोस सबै थियो तर हैसियत थिएन । एउटा हैसियत नभएको मान्छेले नाता सम्बन्ध प्रेम सबै गुमाउँछ उसको बोलीको पनि मूल्य हुँदैन भन्दै एउटा चलचित्र क्षेत्रमा सँगै गोरेटो खन्न हिँडेका केही साथीहरूले मात्रै चिन्ने गरेको तर सरकारले नचिनेको भन्दै भन्दै भावुक भए ।
कार्यक्रममा नेपाल चलचित्र संघका अध्यक्ष नरेन्द्र महर्जनले वार्षिक साधारणको भव्य सफलताको कामना गर्दै कार्यक्रममा सम्मानित एवम् पुरस्कृत हुने व्यक्तित्वहरूलाई शुभकामना प्रदान गरेका थिए । नेपाल चलचित्र कलाकार संघका सल्लाहकार कृष्ण मल्लले आगामी दिनहरूमा नेपाल चलचित्र कलाकार संघ अझै बढी सक्रिय रहोस् भन्दै शुभकामना दिएका थिए ।
समारोहमा प्रमुख अतिथिको रुपमा चलचित्र बिकाश बोर्डका अध्यक्ष दिनेश डिसीले सम्मानित तथा पुरस्कृत व्यक्तित्वहरूलाई बधाई दिँदै लय संग्रौला जस्ता अग्रज कलाकारहरूलाई अथवा चलचित्र क्षेत्रमा सक्रिय व्यक्तित्वहरूले सम्मान पाउँदा आफू निक्कै खुसी भएको बताए । साथै चलचित्र विकास बोर्डले प्रदान गर्दै आएको मेडिकल ईन्सुरेन्स अब उप्रान्त ३० वर्ष योगदान दिएका चलचित्रकर्मीहरूको लागी २ लाख र २० वर्ष पुगेका चलचित्रकर्मीहरूको लागी १ लाख रुपैयाँको पुर्याउने बताए ।
यस अघि मेडिकल ईन्सुरेन्सको उक्त रकम ३० वर्ष योगदान दिएका चलचित्रकर्मीहरूको लागी १ लाख मात्रै रहेको थियो । त्यस्तै कार्यक्रममा प्रमुख अतिथि डिसीले चलचित्र क्षेत्रमा देखिने गर आफू काम गर्न लागिएको भन्दै उनले बोर्ड मार्फत चलचित्र कल्याणकारी कोषमा ३६ लाख प्रदान गरिएको छ भने काभ्रेमा नेपालकै ठुलो चलचित्र स्टुडियोको निर्माणको प्राविधिक खाका तयारीमा व्यस्त रहेको बताए । नेपाल चलचित्र कलाकार संघ मार्फत पनि कलाकारहरूको हकहितको लागि आफू प्रतिबद्ध रहेको बताए ।
नेपाल चलचित्र कलाकार संघका सदस्य गोपाल ढकाल छन्देले सञ्चालन गरेको कार्यक्रममा संघका महासचिव सविन श्रेष्ठले सहभागीहरूलाई स्वागत गरेका थिए । २० औँ साधारण सभा तयारी समितिका संयोजक संघका महासचिब सविन श्रेष्ठ रहेका थिए ।
समारोहमा विशिष्ट चलचित्रकर्मी चैत्यदेवी सिंहले चलचित्र कल्याणकारी कोषमा नगद २५ हजार सहयोग गरेकी छन् ।