ब्युटी न्युज नेपाल
काठमाडौं, २ चैत
नेपाली चलचित्र ’होस्टेल ३’को यतिबेला दोस्रो हप्तामा सानदारका साथ प्रदर्शन भईरहेको छ । यो चलचित्रको गीत ’रक अन’ युट्युबमा आज सार्वजनिक गरिएको छ । चलचित्रको अन्त्यमा राखिएको यो गीतको माग बढेपछि युट्युवमा ल्याइएको निर्देशक सशान कँडेलले बताए ।
यस गीतमा ’होस्टेल ३’का प्रमुख कलाकारहरू पारस बम ’कुलब्वाय’ र रिहान गिरीको साथमा समीर काजीको स्वर रहेको छ भने महेश ज्ञवालीको शब्द तथा सङ्गीत रहेको छ । एरेन्ज योगेश काजीले गरेका छन् ।
’होस्टेल ३’ले पहिलो हप्ता नेपालमा मात्र ४ करोड ३२ लाख ग्रस कलेक्सन गरेको थियो । यो चलचित्र हाल नेपालबाहिर मध्यपूर्व, अस्ट्रेलिया लगायतका देशहरूमा समेत प्रदर्शन भइरहेको छ भने नेपालीहरूको बसोबास रहने प्रायः सबै देशहरूमा रिलिज हुने निर्देशक कँडेलले बताए । इमिरेट्स, बहराइन, कतार तथा अस्ट्रेलियाबाट पनि यसको व्यापारको चर्चा आइरहेको छ ।
गत बिहीबार रिलिज भएयता ’होस्टेल ३’को व्यापारको रफ्तार गजबको देखिएको छ । दोस्रो हप्ताको शनिवार पनि चलचित्रको व्यापारमा कुनै कमी नआएको निर्देशक कँडेलले बताए । ’हामी निरन्तर हल भिजिटमा छौँ र वितरकबाट पनि व्यापार रिपोर्ट लिइरहेका छौँ । दोस्रो हप्तामा पनि व्यापारको उत्साह कायमै छ । दोस्रो शनिवार त झनै व्यापक माहौल देखियो,“ कँडेलले भने ।
यस चलचित्रमा पारस बम ’कुलब्वाय’, सिम्रन पन्त, आशिष घिमिरे, पदम तामाङ, हेना नगरकोटी, रिहान गिरी, समा पराजुली लगायतको मुख्य भूमिका रहेको छ । प्रवीण खतिवडाले वार्डेनको भूमिका निभाएका छन् । आशिष पुरुष, रोहन श्रेष्ठ, उमर खान र सन्तोष बानियाँ पनि चलचित्रमा रहेका छन् ।