ब्युटी न्युज नेपाल
काठमाडौँ, २६ फागुन
फागु पूर्णिमाको अवसर पारेर बिहीबारबाट नयाँ नेपाली चलचित्र ‘आउटलः दफा २१९’ रिलिजमा आउँदै छ । युवा निर्देशक विक्की महर्जनले यो फिल्मलाई निर्देशन गरेका हुन् । अमित अग्रहरी फिल्मका निर्माता हुन् ।
यो फिल्म निर्माण गर्नका लागि २ वर्ष लागेको र सबै टिमले निकै मिहिनेत गरेको भनाई निर्देशक महर्जनको छ । महर्जन भन्छन्–‘यो फिल्ममा एक्सन मात्र छैन । एक्सनसँगै फिल्मले नेपालको महत्त्वपूर्ण विषयलाई उठान गरेको छ । फिल्ममा एक्सन, ड्रामा, कमेडी, थ्रीलर सबै छ । यसमा हेर्नका लागि धेरै कुरा छ । दर्शकलाई यस पटक धेरै सर्प्राइज हुनेवाला छ । ट्रेलरमा सबै कुरा खोलिएको छैन ।’
निर्देशक महर्जनले यो कथा कसैको जीवनसँग नमिल्ने पनि दाबी गरे । भने–‘यो एउटा काल्पनिक कथा हो । क्यारेक्टर ग्याङ स्टारकै हो । तर, यो बदला र न्यायको कथा हो । यसको कथावस्तु निकै नै गह्रुङ्गो छ ।’
यता, चलचित्रका निर्माता अमित अग्रहरी पनि सबैको सोच मिलेका कारण ‘आउटलः दफा २१९’ निर्माण भएको बताउँछन् । उनले भने–‘यस्तो एउटा विषयवस्तु हामीले ल्याएका छौँ, जुन भन्न आवश्यक थियो । एक्सनमा यो फिल्मले नेपाली फिल्म क्षेत्रमा नयाँ बेन्चमार्क नै खडा गर्छ जस्तो लाग्छ मलाई । मैले पैसा सोचेर फिल्म बनाएको नै होइन । नयाँ भिजन, नयाँ विषयवस्तु भएका कारण नै लगानी गरेको हुँ ।’
उनले, नेपालमा पछिल्लो समय बनिरहेका फिल्म भन्दा विल्कुलै फरक फिल्म ‘आउटलः दफा २१९’ बनेको दाबी गरेका छन् । भने–‘हामीले एक्सन फिल्म त हेरेका छौँ तर त्यसमा फिल नै आउन सकेको छैन । आउटलले त्यो महसुस गराउँछ । दर्शकहरूले निकै राम्रो प्रतिक्रिया पनि दिनु भएको छ । यो हाम्रो सफलता हो । फिल्मले अर्को फिल्म बनाउने पैसा उठायो भने पनि म खुसी हुन्छु ।’
फिल्मको मेकिङ, प्रस्तुति, एक्सन, कलाकारहरूको अभिनयले सर्वाधिक चर्चा पाइरहेको छ । नायक सुशील श्रेष्ठको नयाँ अवतारले दर्शकलाई सर्प्राइज पनि दिएको छ । यसैले, बक्स अफिसमा यो फिल्मले सुखद कमाई गर्ने विश्वास लिइएको छ ।