’होस्टेल ३’ को व्यापार उत्साहजनक, हलमा कलाकार भेट्दा दर्शक रमाए


ब्युटी न्युज नेपाल
काठमाडौं, २६ फागुन

आइतबार साँझ काठमाडौँको चाबहिल स्थित एफक्युव चलचित्र घरमा चलचित्र होस्टेल ३ प्रदर्शन भईरहेको थियो । जब चलचित्र सकियो । हलको अग्र पंक्तिमा यो चलचित्रका शिर्ष कलाकारहरु उस्थित थिए । आफुले पर्दामा हेरी रहेको चलचित्रको कलाकारलाई एक्कासी त्यहाँ देख्दा दर्शकहरू उत्साहित हुँदै ताली बजाउन थाले । उनीहरूले ती कलाकारसँग सेल्फी लिए । उनीहरूको अभिनयको भेटेर खुबै प्रशंसा गरे ।

शुक्रवार रिलिज भएको नेपाली चलचित्र ’होस्टेल ३’को आइतबार पनि राम्रो व्यापार थियो । एफक्युव सिनेमा घरमा साँझको सो अघिल्लो दुई रोहबाहेक सबै भरिएको थियो । यो चलचित्र शनिवारबाट राम्रो व्यापार गर्न सफल भएको छ । जसका लागि हल हलमा पुगेर कलाकारहरूले दर्शकसँग साक्षात्कार पनि गरिरहेका छन् ।

काठमाडौँका विभिन्न चलचित्र हलहरूमा कलाकारहरू पारस बम ’कूलब्वाय’, सिम्रन पन्त, पदम तामाङ, आशिष घिमिरे, हेना नगरकोटी, सन्तोष बानियाँ, समा पराजुली, विलियम पिएनसहित निर्देशक सशान कँडेल पनि पुगिरहेका छन् । उनीहरूले दर्शकसँग प्रतिक्रिया लिँदै फोटो र भिडियो खिचाइरहेका छन् ।

निर्माण पक्षका अनुसार शुक्रवार देशभरका हलहरूमा करिब ५०% अकुपेन्सी थियो भने शनिवार बिहानैदेखि धेरै हलहरूमा शतप्रतिशत र केहीमा ८० देखि ९० प्रतिशतसम्म अकुपेन्सी रहेको काठमाडौं उपत्यकाका वितरक गोविन्द शाहीले बताए । त्यस्तै, काठमाडौं उपत्यका बाहिरका वितरक रोहित कट्टेलले अपेक्षाभन्दा व्यापक रूपमा चलचित्रले सफलता प्राप्त गरेको बताए । उनका अनुसार आइतबार आज पनि चलचित्रको अकुपेन्सी राम्रो छ । हलमा दर्शकको उपस्थिति उत्साह जनक रहेको शाहीले ब्युटी न्युज नेपाललाई बताए ।

निर्देशक सशान कँडेलले आफ्नो पहिलो निर्देशनमा नै दर्शकबाट अप्रत्याशित माया पाएकोमा खुसी व्यक्त गरे । उनले भने, “चलचित्रले तीन दिनमै उत्साहजनक व्यापार गरेको छ, तर मेरो लागि सबैभन्दा ठुलो उपलब्धि दर्शकहरूको माया र सकारात्मक प्रतिक्रिया हो । व्यापार त महत्त्वपूर्ण छ, तर त्योभन्दा पनि महत्त्वपूर्ण कुरा दर्शकहरूले चलचित्रलाई कसरी आत्मसात् गर्छन् भन्ने हो ।”

कँडेलका अनुसार ‘होस्टेल ३’ ले दर्शकहरूलाई भरपुर मनोरञ्जन दिन सफल भएको छ । “म यो सफलता मेरो मात्र नभएर सम्पूर्ण टिमको मेहनतको परिणाम हो भन्ने मान्छु । नेपाली चलचित्रप्रति दर्शकहरूको यो माया निरन्तर रहोस्,” कँडेलले थपे ।

अर्जुन तिवारीले छायाङ्कन निर्देशन गरेको यस चलचित्रको सम्पादन विकास दाहालले गरेका छन् । हिमाल केसी एक्सन निर्देशक हुन्। अर्जुन पोखरेल, अल्मोडा राणा उप्रेती, महेश ज्ञवाली र किरण माइकलले सङ्गीत दिएका छन् । यम ओलीले प्रोडक्शन डिजाइन गरेका छन् भने प्रवीण सिंह र रोशन विश्वकर्माले नृत्य निर्देशन गरेका छन् । चलचित्रको वितरण काठमाडौं उपत्यकामा काफिया फिल्म्स (गोविन्द शाही) र उपत्यका बाहिर आर आर फिल्म्स (रोहित कट्टेल, रत्न श्रेष्ठ) ले गरेका छन् ।

माधव शर्माले पटकथा तथा संवाद लेखेका हुन् भने उनी एसोसियट निर्देशक पनि हुन् । चलचित्रका निर्माता सुरेश कँडेल, कर्ण कार्की र गोविन्द अधिकारी हुन् भने सह–निर्मातामा शिशिर ज्ञवाली, अनीश सिग्देल, कुन्दन गुप्ता र गणेश मगर रहेका छन् । शङ्कर कोइराला कार्यकारी निर्माता हुन् भने कोसिस राज क्षेत्री लाइन प्रोड्युसर हुन् ।