‘आउटलः दफा २१९को अन्धो कानूनमा न्यायको खोजी


ब्युटी न्युज नेपाल
काठमाडौँ २५ फागुन

फागुनको २९ गतेबाट रिलिजमा आउन लागेको सुशील श्रेष्ठको महत्वकांक्षी नेपाली चलचित्र ‘आउटलः दफा २१९’ अहिले निकै चर्चामा छ । यसको ट्रेलर रिलिज भएपछि चर्चा चलेको हो ।

यसैबिच यो चलचित्रको ओएसटी ‘अन्धो कानुन’ गीत सार्वजनिक गरिएको छ । ‘अन्धो कानुन’ गीतले नेता र सरकारमाथि आक्रोश पोखेको छ । कानुन अन्धो हुँदा देशमा नारीको अस्मिता कसरी लुटिएको छ भन्ने गीतमा आवाज बोलिएको छ ।

मिस्टर डीले तयार पारेको यो गीतमा उनकै र्याप र संगीत छ । नितु पुनले पनि गीतमा स्वर दिएकी छिन् । यो गीतको भिडियोमा दिर्घ धामीको कन्सेप्ट, सम्पादन र निर्देशन छ । सलिनाको कार्यकारी निर्देशन रहेको गीतको भिडियोमा सलिना सुनार र साजेश बलामी पनि निर्देशन टिममा छन् । राजेश कुटुको यसमा कोरियोग्राफी छ । नविन गुरुङले यो फिल्म खिचेका हुन् ।

यो गीतलाई दर्शकले निकै मन पराएका छन् । फिल्मको यो गीतले जनताको आवाज बोलेको भन्दै फिल्मप्रति उत्साह अझै थपिएको दर्शकको प्रतिक्रिया छ । गीतमा एउटै व्यक्ति बारम्बार सरकारमा गएको, जनतामाथि अन्याय गरेको, बलात्कारीलाई संरक्षण गरेको लगायतका शब्द बुनिएको छ ।

यो चलचित्रलाई विक्की महर्जनले लेखन तथा निर्देशन गरेका हुन् । फिल्ममा अमित अग्रहरी र निशा गुइडेको लगानी छ । विक्की महर्जन र दिर्घ धामीको पटकथा रहेको फिल्ममा विनोद कठायत कार्यकारी निर्माताको रुपमा छन् ।

यो फिल्ममा सुशील श्रेष्ठ, नरेश पौडेल, शिक्षा संग्रौला, सुमन भण्डारी, हेममान गुरुङ, सोनी लागुन, विशाल पहारी, महेश त्रिपाठी, आयन परियारको अभिनय छ ।

चुल्ठे काजीको एक्सन रहेको फिल्ममा साहिल खानको सम्पादन छ । फिल्मको ट्रेलरलाई दर्शकको उच्च साथ मिलेको छ । यसको मेकिङ, प्रस्तुति, कलाकारहरुको अभिनय र एक्सनको सर्वत्र तारिफ भइरहेको छ । यसैले, यो फिल्मले दर्शकको सुखद साथ पाउने विश्वास गरिएको छ ।