ब्युटी न्युज नेपाल
काठमाडौं, ३ असोज
चौथो क्वालिटी इन्टरटेनमेन्ट अवार्ड २०२४ को यस पटक थाइल्यान्डमा हुने भएको छ । यो अवार्ड गत वर्ष मलेशियामा आयोजना गरिएको थियो ।
क्वालिटी फिल्मस् प्रा.लि.को आयोजनामा यो अवार्ड थाइल्यान्डमा आयोजना गर्ने तयारी भव्य रूपमा भइरहेको अवार्डका अध्यक्ष एवम् चलचित्र तथा म्युजिक भिडियो निर्देशक उमेश गुरुङले बताएका छन् ।
यस पटक थाइल्यान्डमा अवार्ड समारोहसँग सम्मान कार्यक्रम पनि गरिने भएको छ । अवार्डमा सहभागी हुने कलाकारहरूले काठमाडौँबाट थाइल्यान्ड पुगेर अवार्ड ग्रहण गर्ने पनि गुरुङले बताएका छन् ।
यो अवार्डको लागि फारम भर्ने मिति यही २९ फागुनसम्म राखिएको पनि अध्यक्ष उमेश गुरुङले जानकारी गराएका छन् । अवार्डमा प्राप्त भएका फारमहरूको आधारमा यही चैतको ३ गते भित्र मनोनयन सार्वजनिक गरिने भएको छ । सो मनोनयनबाट निर्णायकको निर्णय र भोटको आधारमा उत्कृष्ट चयन गरिने पनि गुरुङले बताएका छन् । मनोनयन सार्वजनिक गरेपछि थाइल्यान्डमा अवार्ड आयोजना गर्ने मिति समेत घोषणा गरिने भएको छ ।
अवार्डको लागि यस पटक पनि गीत संगीत, चलचित्र, फेसन, मोडलिङका विभिन्न विधामा फारम भरेर सहभागी हुन पाइने पनि अध्यक्ष गुरुङले जानकारी गराए । जसमा २०८० साउनबाट २०८१ माघ अन्तिमसम्म सार्वजनिक भएका गीत संगीत, चलचित्र, म्युजिक भिडियो, फेशन, मोडलिङ विधाका स्रष्टाहरूले अवार्डमा सहभागी हुन पाउने पनि गुरुङले जानकारी गराएका छन् ।
सर्जकलाई सम्मान गुणस्तरीय सृजनालाई प्रोत्साहन भन्ने नारासहित यो अवार्ड चार वर्ष अघिबाट सुरु भएको हो । विगत झैँ यस पटक पनि यो अवार्डलाई प्रतिस्पर्धामूलक रूपमा आयोजना गरिने भएको छ ।