‘केपी शर्मा ओली: सपना, सङ्घर्ष र सङ्कल्प’ पुस्तक लोकार्पित


ब्युटी न्युज नेपाल
काठमाडौँ, १९ फागुन

पत्रकार गणेश पाण्डेको सम्पादनमा नयाँ पुस्तक ‘केपी शर्मा ओली: सपना, सङ्घर्ष र सङ्कल्प’ बजारमा आएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको बारेमा लेखिएको यो पुस्तकलाई आज काठमाडौँमा एक समारोहबिच पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले लोकार्पण गरेकी छिन् ।

विमोचन समारोहमा सबैलाई स्वागत गर्दै आफूले यो पुस्तक प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (एमाले) का अध्यक्ष ओलीले लोकतन्त्र प्राप्तिका लागि गरेका अनेक सङ्घर्षदेखि मुलुकको समृद्धिका लागि देखाएका सपना र गरेको नेतृत्वदायी पहललाई समेटेर तयार पारेको पत्रकार पाण्डेले कार्यक्रममा बताए । पुस्तक तयार गर्दाका कथा पनि उनले सो कार्यक्रममा सुनाए । पुस्तकमा प्रधानमन्त्री ओलीका सहयात्री, राजनीतिज्ञ, अर्थविद्, सामाजिक व्यक्तित्वहरूका लेख–रचनासमेत समावेश गरिएको पनि उनले जानकारी गराए । सो पुस्तक अल्केमी प्रकाशनले गरेको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व राष्ट्रपति विद्या भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओली नेता मात्र नभएर राजनेता भएको बताइन् । आफू राष्ट्रपति भएको बेला ओली प्रधानमन्त्री हुँदा निक्कै समन्वयात्मक भूमिका खेलेको भण्डारीले स्मरण गरिन् । ओलीमा देश र समाजको विकास प्रतिको तीव्र हुटहुटी भएको भण्डारीको भनाइ छ ।

यस्तै प्रधानमन्त्री ओलीले आफ्नो बारेमा निकै मेहनत गरेर पुस्तक प्रकाशनमा ल्याएकोमा पत्रकार पाण्डेलाई धन्यवाद दिए । उनले पुस्तकमा समेटिएका विभिन्न लेख र घटनाको पनि कार्यक्रममा चर्चा गरे ।

यस्तै एमाले महासचिव शंकर पोखरेलले केपी शर्मा ओली विचार सहितको नेता भएको बताए । उनले प्रधानमन्त्री ओलीले राजनीतिमा गरेको विभिन्न सङ्घर्षको सो कार्यक्रममा स्मरण गर्दै ओली झापा विद्रोहमा पनि मानव हत्या विरुद्ध असहमति राख्ने नेता भएको बताए । ओली मदन भण्डारीको जनताको बहुदलीय जनवादको मस्यौदाकार समेत रहनुभएको स्पष्ट पार्दै महासचिव पोखरेलले धैर्यता नगुमाउँदा विचारलाई स्थापित गराउन सकिन्छ भन्ने मान्यता ओलीले पुष्टि गरेका बताए ।

कार्यक्रममा अभिनेत्री केकी अधिकारी, अभिनेता तथा गायक प्रकाश सपुतलगायतले पनि प्रधानमन्त्री ओलीको बारेमा आफ्ना धारणा राखे ।