ब्युटी न्युज नेपाल
काठमाडौँ, २४ फागुन
विन्ध्यवासिनी फाउन्डेसनले यस वर्षको विन्ध्यवासिनी म्युजिक लाइफ टाइम अचिभमेन्ट अवार्ड अग्रज गीतकार राजेन्द्र थापालाई प्रदान गर्ने भएको छ । थापालाई एक लाख रुपियाँसहित ताम्रपत्रबाट पुरस्कृत गर्न लागेको हो ।
शनिवार काठमाडौँमा आयोजना गरिएको विन्ध्यवासिनी फाउन्डेसनको ११औँ भेला तथा १५औँ विन्ध्यवासिनी म्युजिक अवार्ड २०८१ आयोजक समितिको बैठकले थापासहित सबै पुरस्कृत तथा सम्मानितहरूको नाम चयन गरेको हो ।
यस्तै यो वर्षको ५० हजार रुपैयाँ राशीको विन्ध्यवासिनी संगीत साधना सम्मान अग्रज गायिका संगीता शाक्यलाई प्रदान गर्ने निर्णय सो भेलाले गरेको छ । यस्तै मूर्धन्य गायक प्रेम ध्वज प्रधानको नाममा स्थापित २५ हजार रुपैयाँ राशीको प्रेम ध्वज संगीत रत्न सम्मान यस पटक गायिका निशा देशारलाई प्रदान गर्ने निर्णय भएको छ । नेपाली संगीत क्षेत्रमा विगत दुई दशकदेखि सक्रिय रहेकी निशाको योगदानको कदर स्वरूप २५ हजार रुपियाँसहितको यो सम्मान प्रदान गर्न लागिएको हो ।
त्यसै गरी यस वर्षको झलकमान लोक–संगीत सम्मान २०८१ लोक गायक शिरीष देवकोटालाई २५ हजार रुपैयाँ सहित प्रदान गरिने भएको छ । यस वर्षको विन्ध्यवासिनी कला पत्रकारिता सम्मान २५ हजार रुपियाँसहित पत्रकार शारदा थापालाई प्रदान गरिने भएको छ । आगामी २८ चैतमा आयोजना गर्न लागेको १५औँ विन्ध्यवासिनी म्युजिक अवार्ड २०८१ अन्तर्गतको यी विभिन्न पाँच विधामा सम्मानित एवम् पुरस्कृतहरूको नाम घोषणा गरिएको हो ।
सम्मानित यी नामहरु अग्रज गीतकार दिनेश अधिकारीहरुले भेलामा घोषणा गरेका थिए । फाउन्डेसनका सचिव परमानन्द खनालले विन्ध्यवासिनी संगीत अवार्डको बारे कार्यक्रममा प्रकाश पारे ।
कार्यक्रममा फाउन्डेसनका सञ्चालक सुवास रेग्मीले १५ वर्षको अविच्छिन्न यात्रामा स्रष्टा सम्मानमा आफूहरूले कहिल्यै हस्तक्षेप नगरेको र सल्लाहकारबाट सिफारिस भएका स्रष्टालाई पुरस्कृत गर्दै आएको बताए ।