विकास बोर्डमा तीन दिवसीय महिला चलचित्र महोत्सव सुरु 


ब्युटी न्युज नेपाल
काठमाडौँ, २० चैत

चलचित्र विकास बोर्डको आयोजनामा आज मंगलबारबाट महिला चलचित्र महोत्सव सुरु भएको छ । यो महोत्सव आजबाट बिहीबारसम्म जारी रहने छ ।

काठमाडौँ महानगरपालिकाकी उप प्रमुख सुनिता डंगोलले  आज पानसमा बत्ती बालेर यो महोत्सवको उद्घाटन गरिन् । उनले बोर्ड अध्यक्ष दिनेश डिसी र आयोजक टिमलाई महोत्सवको सफलताको शुभकामना व्यक्त गरिन् ।

 ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारेर यो महोत्सव आयोजना गरिएको हो । नारी दिवसको शुभकामना दिँदै उपप्रमुख डंगोलले नारीहरूको सम्मानमा यसरी चलचित्र महोत्सव गर्नु सराहनीय कार्य भएको बताइन् । यो महोत्सवको आउँदा दिनमा पनि उनले निरन्तरताको कामना गरिन् ।

चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले नेपाली महिला चलचित्रकर्मीहरूको सम्मानमा यो महोत्सव आयोजना गरेको बताए । उनले नेपाली चलचित्रका नारी कलाकार तथा प्राविधिकहरूलाई प्रोत्साहन गर्नु महोत्सवको उद्देश्य रहेको बताए । ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारेर चलचित्र विकास बोर्डको महिला चलचित्रकर्मी सशक्तीकरण समितिद्वारा यो महोत्सवको आयोजना गरिएको उनले जानकारी गराए ।

अग्रज अभिनेत्री वसुन्धरा भुसालले पनि कार्यक्रममा अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा शुभकामना व्यक्त गरिन् । प्रथम अभिनेत्री भुवन चन्दले पनि नारीहरुको लागि चलचित्र महोत्सव आयोजना गरिएकोमा अध्यक्ष डिसीलाई धन्यबाद ज्ञापन गरिन् ।

महोत्सवको उद्घाटन समारोहपछि नेपाली चलचित्र सिन्दूरको प्रदर्शनी गरियो । ४५ वर्ष अघि प्रकाश थापाको निर्देशनमा बनेको यो चलचित्रलाई चलचित्र विकाश बोर्डले पुन डिआई गरेर डिजिटल प्रविधिमा तयार गरेको हो । चलचित्र सिन्दूर डिजिटलमा प्राविधिक रूपमा गुणस्तरीय देखिएको थियो ।

कार्यक्रममा प्राज्ञ सुष्मा राजभण्डारीको संयोजकत्वमा नेपाल ललितकला क्याम्पस ललितकला विषयका विद्यार्थीहरूले चलचित्रको प्रदर्शनपछि सिन्दूरका अभिनेता विश्व बस्नेत, चरित्र अभिनेत्री वसुन्धरा भुसाललगायतको चलचित्रमा अभिनय गरेका हरिहर शर्मा, शान्ति मास्के, गोपालराज मैनालीसहितका कलाकारहरूको मुहार चित्र कोरे ।

चलचित्र विकास बोर्डको महिला चलचित्रकर्मी सशक्तीकरण समितिकी संयोजक अभिनेत्री केकी अधिकारीको संयोजनमा यो महोत्सव भएको हो । महोत्सवको आयोजक सदस्यहरूमा कलाकार नम्रता खरेल पौडेल, गीता अधिकारीलगायत छन् ।