ब्युटी न्युज नेपाल
काठमाडौँ, १९ फागुन
साहित्यकार सरस्वती घिमिरे आफ्नो एकल मुक्तक वाचन गरेकी छिन् । सोमबार चलचित्र विकास बोर्डको हलमा भएको एकल मुक्तक वाचनमा उनले आफ्ना मुक्तक सुनाईन् । मिलाप मासिकको सहकार्यमा भएको उक्त वाचन कार्यक्रमको सहजिकरण विशिष्ठ कलाकार लय संग्रौलाले गरेका थिए ।
नेपाल चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौलाको प्रमुख आतिथ्यतामा भएको वाचन कार्यक्रममा स्रष्टा घिमिरेले आफ्ना २० वटा मुक्तक बाचन गरिन् ।
माया प्रेमका मुक्तकसँगै उनले देशको माटो, परिवेशका साथै समाजका विविध पक्षका मुक्तक वाचन गरिन् । सरस्वतीले मुक्तक वाचन गरिरहँदा दर्शकदीर्घाबाट वाही वाही आएको थियो । लय संग्रौला र घिमिरेको एकअर्काप्रति काव्यिक कटाक्षले हलको माहोलमा रौनक थपेको थियो । सो अवसरमा स्रष्टा घिमिरेलाई बन्धु फिल्मस्ले दश हजार नगद रुपैयाँसहित सम्मान अर्पण गरेको थियो ।