ब्युटी न्युज नेपाल
काठमाडौँ, २० फागुन
चितवनस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय रंगशाला निर्माणका क्रममा उधारो लिएको निर्माण सामग्रीको भुक्तानी नदिएको आरोपमा पञ्चकन्या ग्रुपअन्तर्गत पञ्चकन्या स्टिलले कलाकार सीताराम कट्टेल ‘धुर्मुस’ र उनको पत्नी कुञ्जना घिमिरे ‘सुन्तली’ विरुद्ध जिल्ला अदालत ललितपुरमा मुद्दा दायर गरेको छ । धुर्मुस–सुन्तली फाउन्डेसन मार्फत यी दुईले सो रंगशाला निर्माणको क्रममा आफुहरुसँग निर्माण सामग्री लिएर अहिलेसम्म पनि भुक्तानी नदिएपछि मुद्दा दायर गर्नु परेको पञ्चकन्या ग्रुपले जनाएको छ ।
गौतमबुद्ध अन्तर्राष्ट्रिय रंगशाला निर्माणका क्रममा धुर्मुस–सुन्तली फाउन्डेसनमार्फत धुमुर्स सुन्तलीले पञ्चकन्या स्टिलबाट पटक–पटक छड लिएको तर ५२ लाख २ हजार ५ सय ५५ रुपैयाँ भुक्तानी अहिलेम्म नगरिएको भन्दै कम्पनीले मुद्दा हालेको जनाएको छ ।
यो ठगी मुद्दाको बारेमा धुमुर्स सुन्तली फाउन्डेसनले कुनै प्रतिक्रिया दिएको छैन । कुन्जना घिमिरे पछिल्लो समय अमेरिका बस्दै आएकी छिन् । यस्तै सिताराम भने चलचित्र लाज शरणम्को प्रचार प्रसारका लागि नेपाल आएका हुन् । चलचित्र लाज शरणम्ले राम्रो व्यापार गर्न नसकेपछि उनी पनि अहिले अमेरिका जाने तयारीमा छन् ।