ब्युटी न्युज नेपाल
काठमाडौँ, १२ फागुन
सुपरहिट सिनेमा ‘रेशम फिलिली’ को दोस्रो श्रृंखला ‘फेरि रेशम फिलिली’ को बुकिङ सोमबारबाट खुलेको छ । यो चलचित्र फागुन १४ गते, महाशिवरात्रि को अवसर पारेर बुधबार देशव्यापी रुपमा रिलिज हुँदैछ ।
यो समाचार तयार पार्दासम्म रेशम फिलिलीको देशभर ९२ शो प्राप्त गरिसकेको छ । नेपालको सबैभन्दा ठुलो सिनेमा चेन क्युएफएक्समा फरि रेशम फिलिलीले सबैभन्दा बढी शो पाएको छ ।
आज प्राप्त ९२ शो मध्ये यो चलचित्रले काठमाडौं उपत्यकामा ५० शो र बाहिर ४२ शो पाएको छ। मंगलबार दिउँसोसम्म ‘फेरि रेशम फिलिली’ ले १५० भन्दा बढी शो पाउने यसका वितरक गोविन्द शाहीले जानकारी गराएका छन् ।
यही दिन अरु दुई चलचित्र रिलिज हुने भनिए पनि अहिलेसम्मको अबस्थामा फेरि रेशम फिलिलीको उच्च सर्वाधिक रहेको छ । फेरी जालमा गीत आएपछि यो चलचित्रको चर्चा एकाएक बढेको हो । धेरैले यसपालीको शिवरात्रिमा भइन्छ फेरि रेशम फिलिली भन्दै सामाजिक सञ्जालमा रेशम फिलिलीका प्रचार सामग्री शेरि गरेका छन् । दर्शकको यो उत्साह हेर्दा चलचित्र रेशम फिलिली जस्तै फेरि रेशम फिलिलीका हिट हुने अनुमान गरिएको छ ।
करिब ९ वर्षपछि सिक्वेल आउने भएकाले दर्शकमाझ कौतुहलता बढेको छ। यो पटक सिनेमाले मुख्य पात्र रेशमले अमेरिकाको भिसा पाएपछि उत्पन्न परिस्थितिको कथा प्रस्तुत गरेको छ।
यो चलचित्रमा विनय श्रेष्ठ, सुपुष्प भट्ट, कामेश्वर चौरासिया, नीर शाह, प्रकाश घिमिरे, शिशिर वाङ्देल, रविन्द्र झा, लक्ष्मी गिरी, महेश त्रिपाठी, एवनराज उप्रेती, मेक्सम गौडेल, सजन थापा लगायतका कलाकारहरूको अभिनय रहेको छ।
यो चलचित्रलाई निर्देशन निरोज महर्जनले गरेका हुन्, जसले कथासमेत लेखेका छन् । सुसन प्रजापती को छायांकन, निरोज महर्जन र आकाश बराल को पटकथा, नरेश किङ्ग योगी को द्वन्द्व निर्देशन तथा कालीप्रसाद बाँस्कोटा, एसडी योगी, हर्क साउद, जयन जे वाइवा र दीपक शर्मा को संगीत रहेको छ। सिनेमाको सम्पादन सुरेन्द्र पौडेल ले गरेका छन्।
सिनेमा आर्ट र वि मोसन पिक्चर्स को सहकार्यमा निर्माण भएको सिनेमाका रौनक विक्रम कडेल निर्माता हुन् भने कार्यकारी निर्माता सुरज बम ठकुरी तथा सह–निर्मातामा एनि थापा रहेका छन्।
सिनेमाको पोस्टर डिजाइन ट्राइडेन्ट कन्सेप्टका रोयल भिमसेन ले गरेका हुन्। सिनेमालाई गोविन्द शाहीको काफिया फिल्म्स र कुवेर सिने डिस्ट्रीब्युसन ले वितरण गर्दै छन्।
२०७२ सालमा पहिलो पटक प्रदर्शन भएको ‘रेशम फिलिली’ ले आफ्नो ओपनिङ कलेक्सनमा कीर्तिमान कायम गरेको थियो। तर, भोलिपल्ट आएको विनाशकारी भूकम्पका कारण प्रदर्शन स्थगित भएर केही समयपछि पुनः रिलिज गरिएको थियो। त्यतिबेला फरक शैलीको कमेडी प्रस्तुत गरेको भन्दै चलचित्रको प्रशंसा गरिएको थियो।