ब्युटी न्युज नेपाल
काठमाडौँ, ६ फागुन
अमेरिकाको डाईभर्सिटी भिसा अर्थात् डिभी परेपछि अमेरिका उड्ने तयारीमा रहेका रेशमलाई रोक्नको लागि उनकी प्रेमिकादेखि आपन्तसम्म पछि पर्छन । यहाँसम्मकी साथी हरियासमेत मिलेर रेशमलाई अपहरण र बन्दी समेत बनाउँछन् । रेशमलाई गाउँबाट काठमाडौँ ल्याएपछि के हुन्छ त ? मँगलबार सार्वजनिक गरिएको चलचित्र फेरि रेशम फिलिलीको यही प्रश्न उठाउँदै ट्रेलर सकिएको छ । ३ मिनट ४ सेकेन्डको यो ट्रेलर निकै रमाइलो छ ।
एक दशक अघि रिलिज भएको चलचित्र रेशम फिलिलीको नयाँ सिक्वल फेरि रेशम फिलिलीले पुरानै शैलीको कमेडीको तड्का दिएको देखिन्छ । अघिल्लो चलचित्रले त्यतिबेला हरिया पात्रलाई लोकप्रिय बनाएझैँ यो सिक्वेलले यस पटक मेक्सम गौडेललेको हाजमोला चरित्रलाई भाइरल बनाउने देखिन्छ ।
हरियाको रेशमलाई समस्यामा पारिरहने पुरानो शैलीले यसपटक पनि दर्शकलाई पेट मिचिमिची हँसाउने सम्भावना ट्रेलरले दिएको छ । समग्रमा ट्रेलरले हलसम्म दर्शकलाई सजिलै आकर्षित गर्ने देखाएको छ । झन्डै ३ दर्जन बढि पात्रको सेरोफेरोमा घुम्ने सिनेमाको परिस्थितिजन्य कमेडी दर्शकका लागि रुचिकर हुने ट्रेलर देखाएको छ ।
सिनेमामा विनय श्रेष्ठ, सुपुष्पा भट्ट, कामेश्वर चौरासिया, नीर शाह, प्रकाश घिमिरे, शिशिर वाङ्गदेल, रविन्द्र झा, लक्ष्मी गिरी, महेश त्रिपाठी, एवनराज उप्रेती, मेक्सम गौडेल, सजन थापालगायतको अभिनय छ ।
सिनेमा आर्ट्स र वि मोसन पिक्चर्सको सहकार्यमा निर्माण भएको सिनेमामा रौनक विक्रम कँडेल निर्माता तथा कार्यकारी निर्माता सुरज बम ठकुरी र सह–निर्मातामा एनि थापा छन् ।
सिनेमालाई निरोज महर्जनले निर्देशन गरेका हुन् । सिनेमाको कथा पनि उनले नै लेखेका हुन् । सुसन प्रजापतिको छायांकन, निर्देशक महर्जन र आकाश बरालको पटकथा, नरेश किङ्ग योगीको द्वन्द्व निर्देशन तथा कालीप्रसाद बासकोटा, एसडी योगी, हर्क साउद, जयन जे वाइवा र दीपक शर्माको संगीत र सुरेन्द्र पौडेलको सम्पादन सिनेमामा रहेको छ ।
सिनेमाको पोस्टर डिजाइन ट्राइडेन्ट कन्सेप्टका रोयल भीमसेनले गरेका हुन् । यो सिनेमालाई गोविन्द शाहीको काफिया फिल्मस् र कुवेर सिने डिष्ट्रीव्युसनले वितरण गर्दै छन् ।