ब्युटी न्युज नेपाल
काठमाडौं, १ फागुन
‘नातिकाजी राष्ट्रिय संगीत सम्मान तथा पुरस्कार– २०८०’ बाट विभिन्न संगीतकर्मीलाई पुरस्कृत गरिएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले बुधवार शीतल निवासमा एक समारोहबिच यो पुरस्कार प्रदान गरेका हुन् ।
राष्ट्रपति पौडेलको प्रमुख आतिथ्यता, संस्कृति मन्त्री बद्री प्रसाद पाण्डेको विशेष आतिथ्यता एवम् नातिकाजी स्मृति समाजका अध्यक्ष एवम् बिशिष्ट संगीतकार शम्भुजीत बासकोटाको सभापतित्वमा सो पुरस्कार प्रदान समारोह सम्पन्न भएको हो ।
कार्यक्रम सभापति बासकोटाको स्वागत मन्तव्यसँगै सुरु भएको समारोहमा नातिकाजी राष्ट्रिय संगीत पुरस्कार २०८० गीतकारतर्फ वि. पाण्डे (बद्री पाण्डे)लाई, संगीतकारतर्फ आशिष अविरल (खिमबहादुर गौतम)लाई, गायन तर्फ गायक हिमाल सागर, गायिका बिन्दु परियारलाई र संगीत संयोजक तर्फ सम्राट् थापालाई प्रदान गरियो ।
नातिकाजी राष्ट्रिय प्रतिभा पुरस्कार संगीत तर्फ संगीतकार कल्याण सिंहलाई, गायन तर्फ गायक डेभिड शँकर र गायिका स्मिता दाहाल र तथा प्राविधिक तर्फ रेकर्डिष्ट भोला पौडेललाई प्रदान गरियो । कार्यक्रमममा शास्त्रीय संगीतको पुरस्कार तर्फ नातिकाजी राष्ट्रिय शास्त्रीय संगीत पुरस्कार २०८० बाट संगीतकार रमेश पोखरेललाई, लोक संगीत तर्फ नातिकाजी राष्ट्रिय लोक संगीत पुरस्कार २०८० बाट लोक गायकद्धय रामप्रसाद अवस्थी, कृष्ण वि.क र लोक गायिका सुष्मा शाही ठकुरी पुरस्कृत गरियो ।
सोही समारोहमा सञ्चार तर्फ २०८० सालको नातिकाजी राष्ट्रिय कला पत्रकारिता पुरस्कार पत्रकार द्वय सुशील अर्याल र सुकृत नेपाल नेपाललाई प्रदान गरियो । सबै पुरस्कारको राशि जनही ११ हजार १११ रुपैयाँ थियो ।
यसै गरी समारोहमा विभिन्न संगीतकर्मीलाई नातिकाजी विशिष्ट संगीत सम्मान प्रदान गरियो । यो सम्मान लोक गायक बोमबहादुर कार्की, संगीत प्रवर्धक प्रकाश सायमी, गीतकार नगेन्द्र थापा, शास्त्रीय संगीतकार ज्ञानुराधा गोर्खाली, गीतकार बुद्धवीर लामा, गीतकार किरण केसी ’क्रोधी’, गायक दिवाकर खड्का, सञ्चारकर्मी धन लामा र गायिका यशोद पराजुलीलाई प्रदान गरियो । समारोहमा नातिकाजी राष्ट्रिय योगदान सम्मानबाट इटहरीको संगीत साधना प्रतिष्ठान र लेखक विमल भौकाजीलाई सम्मानित गरियो ।