ब्युटी न्युज नेपाल
काठमाडौँ, २८ माघ
नेपाली चलचित्र ‘ताण्डवम्’को अफिसियल ट्रेलर सोमबार काठमाडौंमा एक समारोहबिच रिलिज गरिएको छ । सार्वजनिक ट्रेलर २ मिनेट ५ सेकेन्ड लामो छ । कलरिष्ट जुनिम गहतराजको निर्देशनमा यो चलचित्र तयार भएको हो । चलचित्र आगामी ९ फागुनबाट नेपालमा रिलिज हुँदैछ ।
पारिवारिक तथा एक्सन थ्रिलर जनरामा निर्माण भएको सिनेमाको ट्रेलर पछिल्लो समय नेपालमा निर्माण भैरहेका सिनेमाको भन्दा फरक र युनिक देखिन्छ । यो ट्रेलरले सिनेमाप्रति दर्शकमाझ कौतुहलता पैदा गर्ने देखिन्छ । त्यो रात के भयो ? भन्ने संवादबाट सुरु भएको सिनेमाको भगवान् पनि म, अनि राक्षस ? बाट अन्त्य गरिएको छ ।
‘ताण्डवम्’को ट्रेलर सस्पेन्स तथा थ्रिलर महसुस गराउन सफल देखिन्छ । सिनेमाले एक नव विवाहित जोडी जो आफ्नो पहिलो सन्तानको स्वागतको तयारी गरिरहँदा उनीहरू जीवनमा घट्ने अकल्पनीय घटनाले निम्त्याउने उतारचढावको कथालाई पारिवारिक तथा एक्सन थ्रिलर जनरामा प्रस्तुत गरिएको छ ।
चलचित्र ताण्डवम्मा पुष्कर गुरुङ, प्रेम सुब्बा, सरिना मगर, अनोज पाण्डे, कमल कार्की र गोपाल कटुवालको अभिनय रहेको छ । सिनेमा निर्देशक जुनिक गहतराज पनि सिनेमाका यसअघि सार्वजनिक प्रचार सामाग्रीले दर्शकमाझ राम्रो छाप छोड्न सफल भएकाले आज सार्वजनिक ट्रेलरले पनि दर्शकको मन जित्ने विश्वास व्यक्त गरे ।
सिंहदेवी प्रोडक्सनले भिजुयल आट्र्स स्टुडियोको सहकार्यमा निर्माण भएको सिनेमाका निर्माता धनकुमारी गहतराज, सविना मगर र मनिष गौतम हुन् । हरि घले लामाले खिचेको सिनेमामा सम्राट् बस्नेतको एक्सन निर्देशन, सुशान्त गौतमको संगीत र कोबिद बज्रको ब्याकग्राउण्ड म्युजिक रहेको छ । सिनेमाको कथा, पटकथा तथा संवाद अनिरुद्ध आत्रेय र हुसेनले लेखेका हुन् ।