ब्युटी न्युज नेपाल
काठमाडौं, २२ माघ
अभिनेत्री जल शाहकी छोरी कलशले काभ्रेको चौँरी देउराली गाउँपालिकाका चार विद्यालयमा अध्ययनरत ५५ विपन्न विद्यार्थीलाई सहयोग गरेकी छिन्। मिडियाकर्मी उत्सव रसाईले यो सहयोगको संयोजन गरेका थिए । सहयोग उत्सवको गाउँमा गरिएको हो ।
१६ वर्षीया कलशले आफ्नो पकेट मनी र पार्ट टाइम कामबाट संकलित रकममार्फत विद्यार्थीहरूलाई जाडोका लत्ताकपडा, शैक्षिक सामग्री, स्यानिटरी प्याड, हर्लिक्ससहितका खाद्य सामग्री उपलब्ध गराइन्। साथै, दुई जना विद्यार्थी करिश्मा मगराती र युनिक कोइरालाको वार्षिक विद्यालय शुल्कस्वरूप जनही ३५ हजारका दरले ७० हजार रुपैयाँ प्रदान गरिन्।
सानैदेखि समाजसेवामा रुचि राख्ने कलशले ‘शिक्षा फाउन्डेशन’ सुरु गर्दै विपन्न विद्यार्थीलाई सहयोग गर्न थालेकी हुन्। सहयोग कार्यक्रममा उनले भनिन्, ‘विद्यार्थीहरूला
ई भेटेर सहयोग गर्न पाउँदा निकै खुसी लागेको छ। आगामी दिनमा पनि यस्ता कार्यलाई निरन्तरता दिनेछु, मलाई सबैले आशिर्वाद र हौसला दिनुहोला ।
अभिनेत्री जल शाहले पनि छोरीको समाजसेवाप्रति गर्व व्यक्त गर्दै कलशको इच्छालाई पूर्णरूपमा साथ दिने बताइन्। उनका अनुसार, आगामी दिनमा यो अभियानलाई अझ व्यापक बनाइनेछ।