ब्युटी न्युज नेपाल
काठमाडौं, २३ माघ
एक दशक अघि चलचित्र रेशम फिलिलिलाई यो चलचित्रको गीत जालमा (त्यो परिपटी डाँडामा घाम लाग्यो घमाइलो…)ले सुपर हिट बनाउन निकै सघाएको थियो । एक दशक पछि रेशम फिलिलिकै सिक्वेल फेरि रेशम फिलिलि निर्माण गर्ने भएपछि निर्माता रौनक विक्रम कँडेलले त्यो भाइरल गीत किन पो छुटाउँथे । उनले यो गीतलाई पनि फेरी जालमा…नाम राखेर रेकर्ड गराए । अनि चलचित्रमा समावेश पनि गरे । त्यही गीतलाई फेरी ल्याउँदा के होला भन्ने तनावसँगै कौतुहलता पनि थियो । गीतमा केही शब्दलाई परिवर्तन गरेर रेकर्ड गर्दा हल्का परिवर्तन सुनिएको छ । भिडियो अझ बबालै बनेको भन्दै दर्शकले खुलेरै प्रशंसा गरेका छन् ।
राम्रो भएकै कारण यो गीत रिलिज हुने बित्तिकै ट्रेन्डिङमा प्रवेश गर्यो । अहिले ट्रेन्डिङको उकालो यात्रामा पहिलो नम्बरमा पुगेको छ । गीत दर्शक तथा स्रोताले मन पराइरहेका छन् । ‘फेरि रेशम फिलिलि’ सिनेमाको यो गीतमा कालीप्रसाद बासकोटाको संगीत र स्वर छ । काली जसले नेपाली सिनेमा उद्योगलाई सर्व कालीन हिट गीत दिएका छन् । नेपाली सिनेमाको संगीतमा माइल स्टोन खडा गर्ने संगीतकार हुन् । कालीलाई यो गीतमा सोमिया बराइलीले स्वरमा साथ दिएकी छन् । मानसराजको शब्द छ ।
यो समाचार पार्दासम्म फेरि जालमा गीतले २० लाख भन्दा बढी भ्युज पाई सकेको छ । यो गीतले ३५ हजार बढी लाइक र १ हजार ४ सय बढी प्रतिक्रिया बटुलेको छ । यो सिनेमा फागुन १४ मा रिलिज हुँदै छ ।
============================================================================================
गीतलाई दर्शकले यसरी खुलेर तारिफ गरेका छन् ः
‘काली दाइको आवाजमा साँच्चै नै एक किसिमको जादु छ, मनैदेखि माया छ दाजुप्रति । अनि आउँदै गरेको फिल्म ‘फेरि रेशम फिलिली’को सम्पूर्ण कलाकार तथा निर्माता निर्देशकलगायत सम्पूर्ण फिल्म परिवारलाई अग्रिम शुभकामना,’ युट्युबमा गीत हेरेर एक व्यक्ति कमेन्ट गर्छन्, ‘पहिलो भाग हलमा हेरियो, यो चाहिँ अलि नपाइने भयो । हाल साउदीबाट ।’
सीमा बोहरा लेख्छिन्, ‘रिसाएको बेला रमाइलो हुने र एक्लै हुँदा आफ्नै ध्यानमा नाच्ने र गाउने गीत राम्रो लाग्यो ।’
गीत समय सान्दर्भिक भएको चिरञ्जीवी बासकोटालाई लागेको छ । उनी लेख्छन्, ‘गीत राम्रो छ । समयको मागलाई सम्बोधन गरिएको पाएँ । हेर्दाहेर्दै गीत सकिनुको बेग्लै मजा छ ।’
गीत मात्रै होइन भिडियो मन परेको भन्दै खुलेर प्रशंशा गरिरहेका छन् । गीतको भिडियो हेरेर जीवन गैरले सुपुष्पा भट्टको तारिफ गरेका छन् । उनी लेख्छन्, ‘पहिलो पटक नेपाली कलाकारमा सबैभन्दा मन परेको हिरोइन यिनै हुन् । यो गीतलाई सुहाउने हिरोइन ।’
==========================================================================================
गीतजस्तै सिनेमा पनि राम्रो रहेको निर्माण टिमले बताउँदै आएको छ । हसाउँदै कथा भन्ने सिनेमाले दर्शकलाई मजाले इन्टरटेन र इंगेज गराउने निर्देशक निरोज महर्जनले बताएका छन् ।
भिडियोको स्क्रिन प्लेको पनि तारिफ भइरहेको छ । कालीको स्वर र संगीतमा जादु रहेको भन्दै हलमा चलचित्रले पनि जादु चलाउनेमा धेरैले अपेक्षा गर्दै शुभकामना दिइरहेका छन् । धेरैले ०७२ सालमा भूकम्प जाँदा ‘रेशम फिलिलि’ चलिरहेको स्मरण गरेका छन् ।
यो गीत करिब दश वर्ष अघिको भाइरल गीत ‘जालमा’लाई रि–क्रियट गरिएको हो । सिनेमालाई निरोज महर्जनले निर्देशन गरेका हुन् । सिनेमाको कथा पनि उनले नै लेखेका हुन् ।
यो चलचित्रमा विनय, सुपुष्प, कामेश्वर चौरासिया, नीर शाह, प्रकाश घिमिरे, शिशिर वाङ्गदेल, रवीन्द्र झा, लक्ष्मी गिरी, महेश त्रिपाठी, एवनराज उप्रेती, मेक्सम गौडेल, प्रकाश घिमिरे, सजन थापा लगायतको पनि अभिनय छ ।
सुसन प्रजापतीको छायांकन, निर्देशक महर्जन र आकाश बरालको पटकथा, नरेश किङ्ग योगीको द्वन्द्व निर्देशन तथा कालीप्रसाद बाँस्कोटा, एसडी योगी, हर्क साउद, जयन जे वाइवा र दीपक शर्माको संगीत र सुरेन्द्र पौडेलको सम्पादन सिनेमामा रहेको छ ।
सिनेमा आर्ट र वि मोसन पिक्चर्सको सहकार्यमा निर्माण भएको सिनेमामा रौनक विक्रम कँडेल निर्माता तथा कार्यकारी निर्माता सुरज बम ठकुरी र सह–निर्मातामा एनि थापा छन् । फेरि रेशम फिलिलिलाई गोविन्द शाहीको काफिया फिल्मस् र कुवेर सिने डिष्ट्रीव्युसनले वितरण गर्दैछन् ।