ब्युटी न्युज नेपाल
काठमाडौं, १८ माघ
लामो समयदेखि घरेलू हिंसा सहँदै आएकी गायिका एलिना चौहान अन्तत एकलो हुने भएकी छिन् । उनले शुक्रबार दिउँसो काठमाडौं जिल्ला अदालतमा पति बिष्णु सापकोटासँग सम्बन्ध विच्छेदको मुद्धा दायर गरेकी छिन् । उनले अंश र मानाचामल नलिने आफ्नो मुद्दापत्रमा उल्लेख गरिएको छ ।
उनको गत ५ बैशाखमा अष्ट्रेलिया निवासी प्रेमी विष्णु सापकोटासँग धुमधाम विवाह भएको थियो । सो विवाहको एक वर्ष नपुग्दै अब यो जोडी छुट्टिन लागेका हुन् । आफ्ना वकिल सहित एलिनाले पतिसँग सम्बन्ध विच्छेदको लागि यतिबेला मुद्दा समेत दायर गरिसकेकी छिन् ।
यसरी बैवाहिक सम्बन्धमा बाँधिएको १० महिनामै गायिका एलिना चौहानले आफ्ना श्रीमान बिष्णु सापकोटासँग दाम्पत्य सम्बन्ध विच्छेद गर्ने तयारी गरिरहेकी हुन् । गत साताबाट यो प्रकृयामा जुटेकी गायिका एलिना चौहनको अन्तत डिभोर्सको कानुनी प्रकृयाको लागि शुक्रबार काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरिएको हो ।
एलिना चौहानले डिभोर्सको लागि आफ्नो वकिलसँग सल्लाह गरेर कानूनी प्रकृया अगाडी बढाएकी हुन् । उनका वकिल बिष्णु खरेलले यो सम्बन्ध बिच्छेदको मुद्दा दायर गरेका हुन् । उता एलिनाको पति बिष्णु सापकोटाले पनि वारेसनामा दिएर डिभोर्सको प्रक्रियालाई अघि बढाउने भएका छन् । तर यो विषयमा बिष्णुले पनि केही बोलेका छैनन् ।
१० महिना अघि नेपालमा धुमधाम विवाह गरे लगत्तै एलिना आफ्ना श्रीमान बिष्णु सापकोटाका साथ अष्ट्रेलिया पुगेकी थिईन । त्यसपछि करिब दुई महिना उनीहरुको सम्बन्ध राम्रो भयो । तर बिस्तारै दाम्पत्य सम्बन्ध चिसिँदै गएको थियो । यता गायिका एलिनाले सम्बन्ध विच्छेदका क्रममा आफ्ना श्रीमान बिष्णु सापकोटासँग कुनै पनि आर्थिक दावी गरेकी छैनन् । तर उनले विवाहको आफ्नो गहना भने फिर्ता नगर्ने आफ्नो उजृरी पत्रमा उल्लेख गरिएको छ । उनीसँग करिब ३० लाख रुपैयाँको सुनका गहना भएको बताइएको छ ।
गायिका एलिनाले पतिसँग सम्बन्ध विच्छेदको प्रकृया एक महिना भित्र टुँग्याउने गरी डिर्भोसको कार्य सुरु गरिएको छ । गायिका एलिना चौहानमाथि उनका श्रीमान विष्णुले हातपात गर्दै आएको समाचार बेला बेलामा मिडियामा आउने गरेको थियो । उनले मुद्दाको उजुरी पत्रमा आफुलाई बिष्णुले पेशागत दुःख दिएको उल्लेख गरेकी छिन् । मुखभरीको चोटलाई गायिका एलिनाले बिगतमा म्युजिक भिडियो सुटिङको लागि आफुले गरेको घाउचोटको मेकअप भनेर श्रीमानको बचाउ गर्दै आएकी थिईन् । पतिसँग हातपातको क्रम बढेपछि उनी अष्ट्रेलिया छाडेर नेपालमा आएर बस्ने क्रम बढेको थियो ।
एलिनाले आफुलाई श्रीमानले हातपात सहित घरेलु हिंसा गर्दै आएको कुरा काठमाडौंबाट पोखरा जाने क्रममा यात्रामा गायिका ज्योती मगरलाई बताएकी थिईन् । ज्योतीले तीन साता अघि त्यो कुरा सार्वजनिक गरेकी थिईन् । गायिका एलिना चौहानलाई लक्षित गरेर एउटा चर्चित गायिकामाथि उनका श्रीमानले बारम्बार कुटपिट गर्दै आएको कुरा ज्योती मगरले आफ्नो फेसवुकमा लेखेकी थिईन् । त्यसपछि एलिनामाथि भएको घरेलु हिंसाको कुरा मिडियामा आएको हो । ज्योतीको त्यो भनाई र मिडियामा आएको कुरा उनले खन्डन गरिनन् ।
त्यसपछि उनी घरमा बस्दै आएकी छिन् । पछिल्लो समय उनी महोत्सव बाहेक अन्य सार्वजनिक कार्यक्रममा जान छाडेकी छिन् । पछि आफ्नो व्याथा भुलाउने क्रममा बेला बेलामा ओशो तपोवन पुगेर ध्यानमा केही समय विताईन । अन्तर यतिबेला उनले पतिसँग छुट्टिने निर्णय सहित डिभोर्सको केस फाईल गरेकी हुन् ।