ब्युटी न्युज नेपाल
काठमाडौं, १७ माघ
रक्तदान जीवन दान भन्ने नाराका साथ नेपाल म्युजिक भिडियो निर्देशक समाजले काठमाडौँको अनामनगर स्थित सामाजिक विकास चोक, मनोरञ्जन पार्कमा रक्तदान कार्यक्रम आयोजना गरेको छ । निर्देशक समाजकी अध्यक्ष बविता मलेकु श्रेष्ठको संयोजनमा भएको यो रक्तदान कार्यक्रममा ३५ जनाले रक्तदान गरे ।
रक्तदान कार्यक्रममा गायक, गायिका, संगीतकार, अभिनेता, अभिनेत्री, मोडल, नृत्य निर्देशक, चलचित्र निर्माता देखि नेपाल म्युजिक भिडियो निर्देशक समाजका पदाधिकारीलगायतले रक्तदान गरे । महासचिव दयाराम घिमिरे,सम्पूर्ण पदाधिकारीहरू, समाजका सहयोगी राजेन्द्र पुरीलगायतको सक्रियतामा यो रक्तदान कार्यक्रम सम्पन्न भएको थियो ।
रक्तदान कार्यक्रममा म्युजिक भिडियो निर्देशक समाजका सल्लाकार डब्बु क्षत्री, चलचित्र पत्रकार संघ नेपालका अध्यक्ष समीर बलामी, महासचिव रघुनाथ सापकोटासहित विभिन्न संघ संस्थाका पदाधिकारीहरू पनि अतिथिको रूपमा सहभागी थिए ।
नेपाल म्युजिक भिडियो निर्देशक समाजले गर्नु पर्ने सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत यो रक्तदान कार्यक्रम आयोजना गरिएको निर्देशक समाजकी अध्यक्ष बविता श्रेष्ठ मलेकुले बताईन् । कार्यक्रममा रक्तदान गर्नेहरूलाई धन्यवाद सहित प्रमाणपत्र समेत प्रदान गरिएको छ ।
यस्तै नेपाल म्युजिक भिडियो निर्देशक समाजले यही २६ माघ शनिवारको दिन टोखाको भुतखेल मैदानमा विविध सांस्कृतिक कार्यक्रम तथा वनभोजको आयोजना गर्ने भएको छ ।