ब्युटी न्युज नेपाल
काठमाडौं, १५ माघ
काठमाडौं जिल्ला अदालतले भोली बुधबारबाट प्रदर्शनमा आउने नेपाली चलचित्र ‘एक्टर : टेव वान’लाई अर्को आदेश नभएसम्म माघ २२ गतेसम्म प्रदर्शन नगर्न आदेश दिएको छ । सो अदालतका न्यायधिस ढाकाराम पौडेलको एकल इजालसले मँगलबार यस्तो अन्तरिम आदेश जारी गरेको हो ।
यस अघि गत ४ माघमा नेपालका चलचित्र घरमा रिलिज भएको नेपाली चलचित्र एक्टरको निर्माण पक्षले यस्तै नाम भएको अर्को चलचित्र ‘एक्टर : टेक वान’लाई यो चलचित्रको प्रदर्शन तत्कालै रोक्न र नाम परिवर्तन गर्नको लागि माग सहित काठमाडौँ जिल्ला अदालतमा शुक्रबार दिउँसो मुद्दा दर्ता गराएको थियो ।
चलचित्र एक्टरका कथाकार, संगीतकार तथा प्रस्तुत कर्ता सम्राट् थापाले आगामी १६ माघमा प्रदर्शनमा आउने एक्टर : टेक वान बिरुद्ध मुद्दा दायर गरेका थिए । सोही मुद्दामाथि मँगलबार भएको बहसमा आगामी २२ माघमा चलचित्र एक्टर र चलचित्र एक्टर टेक वान गरी दुबै चलचित्रका निर्मातालाई राखेर छलफल गर्ने अन्तरिम आदेशमा उल्लेख छ । भोली बुधबार १६ माघबाट रिलिजमा आउने यो चलचित्रको सोमबार मात्र काठमाडौंमा भव्य प्रिमियर गरिएको थियो ।
आफ्नो चलचित्र एक्टरको नामको पछाडि केही शब्द सानो अक्षरमा थपेर चलचित्र प्रदर्शन गर्न लागिएको जिकिर सो उजुरी पत्रमा गरिएको थियो । मँगलबारको बहसमा चलचित्र एक्टर टेक वानका निर्माता थमनकुमार भण्डारी बहस सकिएपछि अदालत पुगेका थिए । त्यतिबेलासम्म न्यायधिसको इजलासले एक्टर : टेक वानको प्रदर्शनी २२ गतेसम्म रोक्न अन्तरिम आदेश दिईसकेको थियो ।
चलचित्र एक्टरलाई मदन घिमिरेले निर्देशन तथा मनोहरि थापाले निर्माण गरेका हुन् । यो चलचित्रमा प्रिन्स थापामगर, शिवानी गिरी, कसिस दाहाल, कृष्ण मल्ल, सरोज खनाललगायतको मुख्य भूमिका छ । यस्तै चलचित्र एक्टर स् टेक वानलाई राजन भुसालले निर्देशन गरेका हुन भने थमन कुमार भण्डारीले निर्माण गरेका हुन् । यो चलचित्रमा प्रदीप खड्का, आना शर्मा, दिव्य रायमाझी, राज बल्ल्भ कोईरालालगायतको शिर्ष भूमिका रहेको छ ।