ब्युटी न्युज नेपाल
काठमाडौं, १० माघ
चलचित्र ‘जुनाःएक व्यथा’को गीत ‘आमाको मुहार’को भिडियो बिहीबार सार्वजनिक गरिएको छ । ओएसआर डिजिटलबाट सार्वजनिक गीतको भिडियोमा बाल विवाहपछि एक बालिकाको जीवनमा आइपर्ने उतारचढावलाई देखाइएको छ ।
यो चलचित्र यही माघ २५ बाट रिलिज हुँदै छ । यो चलचित्रमा अस्मिता ढकाल, कृष्णप्रसाद धिताल, देशभक्त खनाल, रश्मि भट्ट, अनिता बस्नेत, कमल बोहरा र खगेन्द्र न्यौपानेको अभिनय छ । जुनाको यो नयाँ गीतमा यदु राई लकान्द्रीको स्वर, जीवन सेन्चुरीको शब्द र रमेश सेन्चुरीको संगीत, एरेन्ज, मिक्सिङ तथा मास्टरिङ छ ।
यो गीतको भिडियोमा चलचित्रकी मुख्य पात्र अस्मिता ढकाल वरपर घुमेको छ । भिडियोमा अस्मितासँगै कृष्णप्रसाद धिताल, देशभक्त खनाल, रश्मि भट्ट, अनिता बस्नेतलगायतलाई समेटिएको छ । गीत जति मार्मिक छ, भिडियो उत्तिकै पीडादायी छ । विवाह गरेर गएपछि श्रीमानले दिने यातना, सासूको क्रुद्ध व्यवहारलाई गीतमा देखाइएको छ । जसमा अस्मिताको अभिनय जीवन्त देख्न सकिन्छ ।
यो चलचित्रलाई निर्देशक जीवन सेन्चुरी हुन् । उनले जुनाः एक व्यथा एक ऐतिहासिक र विशिष्ट प्रकृतिको फिल्म रहेको बताए । ‘नेपाली समाजमा व्याप्त महिला हिंसा, बाल विवाह, अनमेल विवाह, बहुविवाह, बलात्कार, जबरजस्ती करणी, छाउपडी जस्ता कुप्रथालाई अन्त्य गर्ने राष्ट्रिय आवश्यकतालाई यस फिल्मको माध्यमबाट सम्बोधन गर्ने प्रयास गरिएको छ’, निर्देशक सेन्चुरीले भने ।
पर्वतको सालिजा ओख्रेनीमा छायांकन गरिएको फिल्ममा राजबहादुर सानेको कथा, बीबी अनुरागी र रमेश सेन्चुरीको संगीत, जीवन सेन्चुरी र भीमबहादुर पौडेलको शब्द, अन्जु पन्त, पूर्णकला बिसी र यदु राई लकान्द्रीको स्वर र रामेश्वर हुमागाईंको डिओपी छ । फिल्मको वितरण एप्पल इन्टरटेनमेन्ट, रिच इन्टरटेनमेन्ट र एफडी कम्पनीले गर्नेछन् ।
गोदावरी फिल्म प्रोडक्सन एण्ड रिसर्च प्रालिको ब्यानरमा निर्माण भएको फिल्मका निर्माता दीपकप्रसाद घिमिरे हुन् । निर्माता घिमिरेले बाल विवाह तथा महिला हिंसा निरुत्साहित गर्ने उद्देश्यले फिल्म निर्माण गरिएको बताए ।