२४ फागुनमा भक्तपुरको सल्लाघारी चौरमा सुशान्त केसीको एकल कन्सर्ट हुँदै 


ब्युटी न्युज नेपाल
काठमाडौँ, ७ माघ

गायक तथा गीतकार सुशान्त केसी आउँदो मार्च ८ मा अर्थात् २४ फागुनमा भक्तपुरको सल्लाघारी ग्राउन्डमा आफ्नो एकल कन्सर्टका साथ प्रस्तुत हुने भएका छन् । फागुन २४ गते शनिवार करिब साढे दुई वर्षपछि नेपालमा आफ्नो प्रस्तुति दिन लागेको उनले बताएका छन् ।

उक्त कन्सर्टबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा बोल्दै केसी लामो समयपछि काठमाडौँ उपत्यकामा हुन लागेको कन्सर्टलाई लिएर उत्साहित रहेको बताए । उनले भने,‘काठमाडौँमा प्रस्तुति दिनु सधैँ विशेष अनुभव हो। समर्थकहरूको माया मेरो प्रेरणा हो र मार्च ८ मा सबैलाई संगीतको यो यात्रामा सहभागी गराउन उत्साहित छु ।’

कन्सर्टका लागि टिकट खल्ती एपमार्फत खरिद गर्न सकिनेछ । आयोजकका अनुसार टिकटको माग उच्च रहने भएकाले समयमै बुकिङ गर्न आग्रह गरिएको छ ।

सुशान्तका अनुसार दर्शकले सो अवसरमा नयाँ एक ट्र्याक सुन्न पाउनेछन् । उनले भने,‘यो कन्सर्टकै लागि भनेर मैले गीत तयार गरिरहेको थिएँ ।

कन्सर्टका लागि टिकट मूल्य समेत तोकिएको छ । खल्ती एपले आइतबारदेखि नै टिकट विक्री सुरु भइसकेको जनाएको छ ।

आयोजकले कन्सर्टमा करिब १५,००० दर्शक उपस्थित हुने अपेक्षा गरेको छ। कन्सर्टको सुरक्षा प्रबन्ध चुस्त बनाउन स्थानीय प्रशासनसँग समन्वय गरिएको आयोजकले जनाएको छ ।