‘डल्लेले इन्ट्री मार्याे’ मा सागर लम्सालले लिएर ३५ लाख !


ब्युटी न्युज नेपाल
काठमाडौं,६ माघ

हाँस्य अभिनेता सागर लम्साल ‘बले’ नयाँ नेपाली चलचित्र ‘डल्लेले इन्ट्री मार्याे’बाट अहिलेसम्मकै सबैभन्दा बढी पारिश्रमिक लिएको निर्माण पक्षको दाबी छ । राजु गिरीले निर्देशन गर्ने यो चलचित्रमा सागरले ३५ लाख रुपैयाँ पारिश्रमीक लिएको यसको निर्माण पक्षले जनाएको छ । यो चलचित्रमा सागरले शिर्ष डल्लेको भूमिका निर्वाह गर्नेछन् । उषा फिल्मसको ब्यानरमा निर्माण हुने यो चलचित्र सोसियल कमेडी जनरामा हुने बताइन्छ ।

यो चलचित्रकी एक निर्माता सावित्रा चिलुवालले ब्युटी न्युजलाई शोबारे जानकारी गराउँदै भनिन्,‘हाम्रो चलचित्रमा हास्यप्रधान युवा अभिनेतालाई मुख्य भूमिकामा अनुबन्धित गराउनु पर्ने कथामा उल्लेख थियो । सोही अनुसार सागरलाई प्रस्ताव राख्दा उनले ३५ लाख भन्दा कममा अभिनय नगर्ने भनेपछि निर्माण पक्षले उनलाई ३५ लाख रुपैयाँमा अनुबन्धित गराएको हो’, अहिले अभिनेता सागरलाई प्रथम पारिश्रमिकको रुपमा १८ लाख रुपैयाँको चेक दिएको र बाँकी १७ लाख रुपैयाँ दुई किस्ता गरेर सागरलाई दिइने सम्झौता भएको पनि उनले बताएकी छिन् ।

सागरलाई दिएको ३५ लाख रुपैयाँको १५ प्रतिसत आयकर पनि निर्माण पक्षले कर कार्यालयलाई तिर्ने जनाएको छ ।

२०७१ सालमा चलचित्र लोफरबाछ कलाकारको रुपमा डेब्यु गरेका सागरले त्यसपछि भद्रगोलमा काम गरे । भद्रगोलपछि उनले ‘सक्किगो नि’ निरन्तर बलेको रुपमा काम गर्दै आएका छन् । उनी यो सिरिजका चर्चित एवम् महँगो पारिश्रमिक लिने कलाकारका रुपमा परिचित छन् । यसपछि उनले चलचित्र ‘हैरान’मा काम गरेका थिए ।

यतिबेला सागरको नयाँ चलचित्र लाज शरणम प्रदर्शनको तयारीमा छ भने फागुनबाट छायाँकन सुरु गरिने डल्लेले इन्ट्री मार्योमा उनी अहिले अनुबन्धित भएका हुन् । ‘डल्लेले इन्ट्री मार्याे’ मा सागरले लिएको पारिश्रमीक अहिलेसम्मकै उच्च हो ।

तीन वर्ष अघि घोषणा भएको यो चलचित्र विभिन्न कारणले निर्माण हुन सकेको थिएन । अब भने नयाँ निर्माण टिम जोडिएका कारण यो चलचित्रको निर्माण सुरु गर्ने बताईएको छ । संचारकर्मी तथा निर्देशक लक्ष्मण सुवेदीको लेखेको यो चलचित्रमा सावित्रा चिलुवाल, निर्मता बस्नेत, आशिष र आदर्श बस्नेत निर्माता रहेका छन् ।

चलचित्रमा नायिकाको रुपमा मलिका महत र अन्जना बराईलीमध्य एकजनालाई अनुबन्धित गर्ने निर्माण पक्षको कथन छ ।